मुख्य राजमार्गसंगै सिन्धुलीका दर्जन बढी ग्रामीण भेगका सडक अबरुद्ध

सिन्धुली – गएराती देखी परेको अबिरल वर्षातको कारण आएको पहिरो तथा बाडिले सिन्धुली हुँदै गएका तीन ठूला राजमार्ग अवरुद्ध भएका छन् । बाढी, पहिरो र खहरेका कारण बनेपा-सिन्धुली-बर्दिवास (विपी) राजमार्ग, हेटौंडा-सिन्धुली-गाईघाट-चतरा (मदन भण्डारी) राजमार्ग र मध्यपहाडी (पुष्पलाल) लोकमार्गको खुर्कोट-घुर्मी सडकखण्ड अवरुद्ध भएका हुन् । 

अबिरल बर्षातको कारण विपी राजमार्गको बर्दिवासदेखि नेपालथोकसम्मको सडकखण्डमा मात्रै चार ठाउँ भन्दा बढी स्थानमा पहिरो र लेदो खसेर सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले बताउनुभयो । बिपि राजमार्ग अन्तरगत दुम्जा, भिमान र माईस्थानमा पहिरो खसेर सडक अबरुद्ध छ ।

प्रहरी प्रमुख सिलवालका अनुसार मध्यपहाडी लोकमार्ग अन्तरगत खुर्कोट-घुर्मी खण्ड अन्तर्गत हैबार, अक्करे र सोखुखोलामा सडक अवरुद्ध रहेको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका -२ कुसुमटारदेखि मरिण र हरिहरपुरगढी गाउँपालिका स्थित बागमती नदी किनारसम्म दर्जन भन्दा बढी स्थानमा पहिरो खसेको कारण सडक अबरुद्ध छ ।

राजमार्गको चुरे क्षेत्रमा धेरै पहिरो खसेको र अधिकांश खहरेबाट बाढी आएको प्रहरी प्रमुख सिलवालले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उहाँको भनाइ छ । सडक अबरुद्ध हुँदा सयौं सवारी साधन र यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् । 

सदरमुकामबाट ग्रामिण भेगमा जाने दर्जन भन्दा बढी सडक समेत पहिरो तथा खहरेका कारण अबरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्लाको सदरमुकाम हुँदै ग्रामिण भेगमा जाने सडक गोलन्जोर-तिनकन्या-नाकाजोली सडक, पिपलभन्ज्याङ्ग-खट्टार-हायुटार सडक, सोलाभन्ज्याङ्ग-चपौली -मझुवा सडक, मधुटार-भिमान-मरिण सडक, शिबनगर-भिमस्थान-चकमके लगायतका सडक अबरुद्ध भएको जनाइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार ०५:५५

प्रतिक्रिया दिनुहोस्