सिन्धुलीको आकाशमा प्याराग्लाईडिङ

सिन्धुली – सिन्धुलीमा पहिलो पटक व्यवसायिक प्याराग्लाडिङ उडान सुरु भएसंगै सिन्धुली माढीबाट देखिने आकाश थप आकर्षित देखिन थालेको छ । गत वैशाख १२ गते पहिलो पटक सफल परीक्षण उडान गरिए पछि गएको साउन २२ गतेबाट सिन्धुलीमाढीमा व्यवसायिक प्याराग्लाडिङ उडान सुरु गरिएको हो ।

प्रयास होटल प्रालि कमलामाई नगरपालिका – ६ रातमाटाले बागमति प्रदेशमै पहिलो पटक सिन्धुलीमा प्याराग्लाईडिङ ब्यवसाय सुरु गरेको हाे । कम्पनीले पाइलट दिल कुमार सुनवार, विक्रम सुनुवार र शंकर थापा मगर गरि तिन जनाले उडान भर्ने प्याराग्लाइडिङ संचालक नेत्र जंग थापाले जानकारी दिए ।

प्याराग्लाइडिङमा उडानको लागि प्रति व्यक्ति ६ हजार ५ सय रुपैयाँ शुल्क तोकीएको छ । सिन्धुलीबासीको हकमा एक महिना सम्मको लागि १ हजार छुट गरी ५ हजार ५ सय तोकिएको थापाले बताए । प्याराग्लाइडिङको फ्लाइट अवधिको फोटो तथा भिडियो यसै शुल्क अन्तर्गत रहेको छ । प्याराग्लाइडिङ उड्ने ठाउँ सम्म पुग्नको लागि कम्पनीले सिन्धुलीमाढीको १ नं बजार, २ नं बजार, माझीटार, ढुंग्रेबास र धुराबजारबाट ल्याउने र पुर्याउने सवारिको सुविधा समेत रहेको संचालक थापाले बताए ।

कम्पनीले प्याराग्लाइडिङको अवतरणका लागि जसेदमार, रातमाटा र धुराबजार लाई ल्याण्डिङ स्टेशन बनाएको छ । प्याराग्लाइडिङको टेक अफ साइट समुद्री सतहबाट ९ सय ७० मिटर उचाइमा छ । प्याराग्लाइडिङ टेक अफ साइट बाट करिब एक हजार मिटर माथि सम्म उड्नेछ । यस्तै प्याराग्लाइडिङको ल्याण्डिङ स्टेशन समुद्री सतहबाट ४ सय मिटरको उचाइमा रहेको छ ।

सिन्धुलीगढी हरिहरपुरगढी संगै नागबेली बिपी राजमार्गले चर्चित सिन्धुली जिल्ला ३ वटा राजमार्गले छोएको जिल्ला हो । सिन्धुलीमा राजधानी काठमाण्डौँ र भारतको ठुलो शहर पट्ना लगायत अन्य जिल्ला जानको लागि सहज भएकाले महिनामा लाखौँको संख्यामा पर्यटकहरु सिन्धुली जिल्ला भएर आवात जावत गर्ने गर्दछन् । सोहि पर्यटकलाई सिन्धुलीमा आकर्षित गराउनको लागि पाराग्लाईडिङ मुख्य व्यवसाय हुने संचालक थापाले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार ०९:०७

प्रतिक्रिया दिनुहोस्