पालिकाको गतिबिधिमा बाहेस गराइनु अन्याय हो: उपाध्यक्ष माझी

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाको उपाध्यक्ष विमला कुमारी माझीले सूचना तथा सञ्चारको क्षेत्रमा भएको कार्यालयगत खर्च र अन्य आबस्यक सुचना माग गर्दा आफुमाथी प्रशासकिय प्रमुखबाट दुर्ब्यबहार भएको बताउनुभएको छ ।

सोमबार सिन्धुलीमाडीमा पत्रकार सम्मेलन गरेर आफूमाथी दुर्ब्यबहार भएको उहाँले बताउनुभएको हो । गाउँपालिकाले नागरिक प्रति राख्ने जवाफदेहिता, समग्र आर्थिक पारदर्शिता र गुणस्तरीयताका लागि आफ्नो पदिय जिम्मेवारी अनुसार प्रश्न गर्दा आफैमाथि दुव्र्यवहार भएको उहाँको भनाइ छ ।

उपाध्यक्ष माझीको अनुसार शुक्रबार साँझ ६ः३० बजेको समयमा जनप्रतिनिधि र विषयगत शाखा प्रमुखहरुबीच भएको छलफलका क्रममा आफुले सूचना तथा सञ्चारका क्षेत्रमा खर्च भएको २८ लाख रुपैयाँको बिल तथा भरपाई, आर्थिक प्रगति प्रतिवेदन, टेण्डर सम्झौता, सार्वजनीक खरिद सम्बन्धि कार्यविधि, प्रक्रिया तथा निर्णयहरुको कार्यान्वयन अवस्थाका बारेमा बुझ्न प्रमाणित गर्ने आवश्यक कागजात सहितको सूचना माग गर्नुभएको थियो ।

उक्त सुचना माग गर्दा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले सबै कागजातहरु उपाध्यक्षलाई हेर्ने अधिकार नभएको भन्दै आफूलाई चोट पुग्ने शब्दहरुको प्रयोग गरि झर्किलो जवाफ दिएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष विर्मश मोक्तान (प्रख्यात) ले समेत प्रमुख प्रशासकिय अधिकृत दर्जीसँग मात्रै सहकार्य गर्ने र उक्त कुरा लगायतका बिषयमा आफू संग समन्वय र सहजिकरण नगरेको उहाँको गुनासो छ ।

गाउँपालिका उपाध्यक्ष माझीले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित भई आफ्नो काम, कर्तव्य र अधिकार अनुसार जिम्मेबारी निर्वाह गर्दै आउँदा वितेको एक वर्षमा भएका सामान्य विवाद र असमझदारीलाई आफैभित्र दबाएर सबै तिर राम्रो सन्देश दिने कोशिस गरिरहेको थिए । यसले आफू झनै हेपिदै गएको र अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतबाटै समन्वय र सहकार्य नगरी अघि बढ्ने क्रम बढेपछी आफुलाइ काम गर्न समस्या थपिएको उहाँको भनाइ छ ।

प्रशासनबाट कतिपय अवस्थामा भुक्तानी दिइने बेलामा आफुले हस्ताक्षर गरिदिनु पर्ने तर ती क्रियाकलाप गरिनु अगाडी आफूलाई कुनै पनि कुरा जानकारी नदिनुले आफ्ना मतदाताले सोधेको प्रश्नको जवाफ दिन नसकेको भन्दै उपाध्यक्ष माझीले दुख व्यक्त गर्नुभयो । पालिकाको प्रशासनीक खर्च, गतिविधिका बारेमा आफू बेखबर हुने गरेको उहाँले सुनाउनुभयो ।

गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले भने मरिणले पालिकाबासी प्रति उत्तरदायी भएर सबै काम पार्दर्शी रुपमा गरिरहेको जिकिर गरे । उपाध्यक्षलाई आफ्नो तर्फबाट हुने साथ, सहयोग र समन्वयमा कन्जुस्याई नगरेको उहाँको भनाइ छ ।

‘उपाध्यक्ष ज्यूलाई उहाँको पदीय अधिकार अनुसार काम गर्दा अफ्ट्यारो आइपरे असहयोग गरेको छैन, सहयोग नै गरिराखेको छु अध्यक्ष मोक्तान भन्नुहुन्छ निर्वाचित भएपछि उहाँले काम पनि राम्रोसँग गरिराख्नु भएको छ । मैले प्रसंशा समेत गर्ने गरेको छु,’ अध्यक्ष मोक्तानले भन्नुभयो, ‘मन मिल्नु पर्ने कुरा मुख्य हो । उहाँलाई कहाँ मन मिलेको छैन, त्यो मैले बुझन सकेको छैन ।’

प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले भदौ १ गते जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा बसेको बैठकमा उपाध्यक्ष माझीले बिल, भरपाई भएर भुक्तानी भइसकेका कागजातहरु आफूले हेर्न पाउनु पर्ने विषय उठान गर्नुभएको स्वीकार गरेका छन । तर, आफूले अपशब्द नबोलेको उहाँको अडान छ ।

‘उपाध्यक्ष ज्यूले माग्नुभएको कतिपय सूचना तथा जानकारी गाउँपालिकाले आफ्नो छुट्टै कानून, कार्यविधि बनाएर मात्रै दिनसक्छ । केही विषयगत शाखाहरुबाट लिनुस भनेको हुँ, उहाँलाई अपशब्द केही बोलेको छैन । बैठकमा उपस्थित वडाध्यक्ष तथा कर्मचारीहरुलाई पनि सोध्नुहोस्,’ उहाँले भन्नुभयो ।

आफूले गाउँपालिकाकै हितमा काम गरिरहँदा आएका यस्ता विवादित विषयवस्तुले आफू हतोत्साहित भएको उहाँले बताउनुभयो । नेपाली काँग्रेस मरिण गाउँपालिका कार्य समितिले आइतबार बेलुका प्रेस विज्ञप्ति निकालेपछि सामाजिक सञ्जालमा आएका टिकाटिप्णीले आफ्नो चरित्रहत्या भइरहेको भन्दै दर्जीले आपत्ति समेत जनाएका छन ।

मरिण काँग्रेस सभापति रामबहादुर वाइवा र सचिव चन्द्र कुमार स्याङ्तानद्धारा हस्ताक्षरित विज्ञप्तिमा प्रमुख प्रशासकिय अधिकृत ओमबहादुर दर्जीले अपशब्द प्रयोग गरि कार्यालयका सबै कागजातहरु हेर्ने अधिकार छैन भन्दै गैह्र जिम्मेवारी पूर्ण जवाफ दिदैँ कानूनी राज्यको खिल्ली उडाएको कुराले सबै सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचित उपाध्यक्षलाई अपशब्द प्रयोग गर्ने, नागरिकको अधिकारलाई कुण्ठित गर्ने कर्मचारीलाई आवश्यक कार्वाहीको माग गर्दछौँ ।’ नेपाली काँग्रेस जिल्ला कार्य समिति, सिन्धुलीका सभापति उपेन्द्र कुमार पाखेरेलले अनुगन तथा सुपरिवेक्षण, बजेट योजना तर्जुमा तथा मुुल्य निर्धारण समिति र अन्यायमा परेका नागरिकलाई न्याय दिने न्यायिक समितिको संयोजक नै उपाध्यक्ष हुने भएकाले उहाँलाई आफ्नो पालिकाको आर्थिक पार्दर्शिता हेर्न पाउनु हुन्न भनेर नेपाल सरकारको प्रमुख प्रशासकिय अधिकृतले सूचनाको हकलाई नै बन्देज गरिनु र अपशब्द बोल्नु खेदजनक र स्थानीय सरकार सञ्चालन ऐन विपरित कार्य भएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘यस्तो कार्यको काँग्रेस घोर भत्र्सना गर्दछ । आफूले बोलेको अपशब्दको क्षमायाचना गर्नु हुन्न भने कानूनी उपचार खोज्ने छौँ । स्वतन्त्र निकायले छानविन गरोस् । यस्ता गलत कार्य बन्द होस ।’गाउँपालिका उपाध्यक्ष माझी नेपाली काँग्रेसबाट निर्वाचित उपाध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १४:३८

प्रतिक्रिया दिनुहोस्