काङ्ग्रेस सिन्धुलिद्वारा आइसोलेसन भवनका लागि ५१ हजार सहयोग

सिन्धुली । नेपाली काङ्ग्रेस सिन्धुलीले महामानव स्व. बिपि कोइरालाको १०७ औं जन्म जयन्तीको अबसरमा सिन्धुलिको शिवनगरमा निर्माणाधीन आइसोलेसन भवन निर्माणको लागि आर्थिक सहयोग गरेको छ ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सिन्धुलिको आयोजनामा महामानव बिपि कोइरालाको जन्मजयन्ती समारोहमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि उक्त अबसरमा काङ्ग्रेसले आइसोलेसन भवन निर्माणको लागि आर्थिक सहयोग गरेको हो ।

सिन्धुली काङ्ग्रेसले निर्माणाधीन आइसोलेसन भवन निर्माणको लागि रु. ५१००० रुपैयाँ सहयोग गरेको हो । उक्त सहयोग रकम आइसोलेसन भवन निर्माण उपभोक्ता समितीका अध्यक्ष अशोक श्रेष्ठलाई नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती सभापती उज्वलप्रसाद बरालले हस्तान्तरण गरेका हुन ।

सहयोग रकम हस्तान्तरण गर्दै सभापति बरालले सबै सहयोगी संघसंस्था, समाजसेवी, ब्यापारी र नागरिकको सहयोग र मेहनतले जिल्लामा निर्माणाधीन अबस्थामा रहेको आइसोलेसन कक्षबाट सिन्धुली र आसपासका नागरिकले छिट्टै सेवा लिन सक्ने बिश्वास ब्यक्त गरे ।

उपभोक्ता समितिले निर्माण सम्पन्न गर्ने लक्ष राखेको समयावधिमा आइसोलेसन भवन निर्माणकार्य सम्पन्न हुने बिश्वास ब्यक्त गर्दै बरालले सामाजिक बिकासको क्षेत्रमा यो त्यो दल या संघ/संगठन नभनी सबैको सहकार्यमा एकजुट हुन सके यस्ता थुप्रै उदाहरणीय काम गर्न सकिने उल्लेख गरे ।

सभापती बरालले महामानब बिपि कोइरालाको १०७ औं जन्मजयन्ती देशब्यापी रुपमा संघ, प्रदेश, जिल्ला, वडा स्थानिय तहमा विभिन्न कार्यक्रम गरि मनाइरहेको सन्दर्भमा यो अबसरमा पार्टिको तर्फबाट सानो सहयोग गर्न पाउदा नेपाली काङ्ग्रेस सिन्धुली गौरवान्वित भएको बताए ।

भाद्र ३ गतेबाट निर्माणकार्य शुरु भएको आइसोलेसन भवनको निर्माणकार्य करिब ९० % काम सम्म्पन्न भैसकेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

सिन्धुली लगायत आसपासका क्षेत्रमा (कोभिड–१९) को संक्रमण दर दिनानुदिन बढिरहेको अबस्थामा आइसोलेसन वेड अभाव हुनसक्ने र उपचारको क्रममा समस्या आउने सम्भावनालाई मध्यनजर गरेर सिन्धुलिमा ५० वेडको आइसोलेसन अस्पताल निर्माण कार्य सुरु गरिएको हो ।

जिल्लाको कमलामाई नगरपालिका -६ स्थित शिबनगरमा ३ करोड ३६ लाख रुपैयाँको लागत स्टमेटमा आइसोलेसन अस्पतालको निर्माण कार्य शुरु गरिएको आइसोलेसन भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक श्रेष्ठले बताए ।

आईसोलेसन अस्पताल निर्माणमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको ९७ लाख रुपैयाँ सहयोग र जिल्लाका स्थानीय तह, सामाजिक संघ/संस्था र सहयोगिसँगको समन्वयमा अस्पतालको निर्माणकार्य सम्पन्न हुने बागमती प्रदेश सांसद तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालले बताए ।

२५ दिनसम्ममा निर्माणकार्य सम्पन्न गर्ने लक्ष सहित नेकपा बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहाल (राजन) को अगुवाईमा निर्माण भैरहेको आइसोलेसन भवनका लागि जिल्ला स्थित स्थानिय तह, विभिन्न संघसंस्था तथा सहयोगी ब्यक्तिबाट सहयोग जुटिरहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार २३:४०

प्रतिक्रिया दिनुहोस्