एक महिनामै रक्तसञ्चार केन्द्रको लागी ५१ लाख माथी सहयोग संकलन

सिन्धुली – रेडक्रस शाखा सिन्धुलीले रक्तसञ्चार केन्द्र व्यवस्थापनका लागी चलाएको अभियान एक करोडको अक्षय कोष स्थापनाका लागी एक महिनाको हाराहारिमा  लक्षको आधा रकम जुटेको छ । 

रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोकराज श्रेष्ठका अनुसार कोषका लागि ३ सय ३० जना दाताहरुबाट ५१ लाख ८५ हजार ३ सय ३५ रुपैयाँ जुटेको हो । दाताले कम्तीमा ५० रुपैयाँदेखि एक लाख २५ हजारसम्म सहयोग प्रदान गरेका अध्यक्ष श्रेष्ठले बताए । ७ जनाले जनही एक लाखभन्दा बढी सहयोग गरेका छन् ।

सिन्धुली अस्पताल परिसरमा आकस्मिक रक्तसञ्चार केन्द्र संचालनमा आएको ७ वर्ष भयो । तर सञ्चालनमा रेडक्रसले आर्थिक संकट भने दिनानू झेलिरहेको छ । अक्षय कोषको ब्याजबाट वितरणयोग्य रगत राख्नका लागि उपकरण खरिद तथा प्राविधिक कर्मचारीको व्यवस्थापन गरिने सभापति श्रेष्ठले बुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिए ।

२४ घण्टै निःशुल्क रगत वितरणको व्यवस्थाका लागि चलाइएको एक करोड अभियान आगामी असोज मसान्तसम्म सञ्चालन हुनेछ । रेडक्रसले चलाएको रक्त सञ्चार केन्द्रबाट वार्षिक ७ सयभन्दा बढीले सेवा लिइरहेको जनाइएको छ ।

रगत उपलब्ध गराउँदा लाग्ने न्यूनतम शुल्कसमेत तिर्न नसक्ने बिरामी आउने भएकाले निःशुल्क अभियान चलाएको सभापति श्रेष्ठको भनाइ छ ।

नियमित रगत चढाउनुपर्ने बिरामी तथा अन्यका लागि अभियानले फाइदा पुग्ने रेडक्रसले अपेक्षा गरेको छ । पहिलो चरणमा आधा करोडभन्दा बढी रकम संकलन भएकाले दोस्रो चरणमा लक्ष्यमा पुगिनेमा सभापति श्रेष्ठ ढुक्क छन् ।

विदेशबाट समेत रकम संकलन भएको छ । एक करोडभन्दा बढी रकमलाई मूल पुँजी बनाएर मुद्दतीमा राख्ने र त्यसबाट प्राप्त हुने ब्याजबाट रक्तसञ्चार केन्द्र सञ्चालन गर्ने रेडक्रसले जनाएको छ । प्रत्येक तीन महिनामा खर्च सार्वजनिक गर्ने पनि रेडक्रसले प्रतिबद्धता गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १४:०७

प्रतिक्रिया दिनुहोस्