कमलामाइ -९ को आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न

सिन्धुली – कमलामाइ नगरपालिका वडा नम्बर -९ को आयोजनामा हरितालिका तिजको अबसरमा शनिबार भिमानमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष बिनोद प्रधानको अध्यक्षता शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

नगरप्रमुख पोखरेलले कार्यक्रममा शुभकामना ब्यक्त गर्दै सामूहिक रूपमा चाडपर्व मनाउँदा आपसी सम्बन्ध प्रगाढ हुने उल्लेख गर्नुभयो । उहाँले तिजलाई मर्यादित र अनुशासित रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो । “अहिले हाम्रा चाडपर्वको मौलिकता हराउँदै गएको छ, उहाँले भन्नुभयो, “तिज मनाउने नाममा केही विकृति पनि देखिन थालेको छ, समाजका लागि यो राम्रो होइन ।”

साथीभाइ, दिदीबहिनी भेला भएर सामूहिक रूपमा रमाइलो गर्ने पर्व तिजको छुट्टै विशेषता र महत्त्व रहेको उहाँको भनाइ छ । उहाँले यस्ता पर्वहरुले समाजलाई एक आपसमा जोड्ने बताउनुभयो ।

नेपाली धर्म, संस्कार, संस्कृति र परम्परा मनाउने नाममा देखासिकी गरेर भन्दा पनि आफ्नो धर्म, संस्कार, संस्कृति र परम्परा जोगाउन एक भएर चाडपर्व मनाउन उहाँले जोड दिनुभयो । सामाजिक उत्तरदायी भएर पर्व मनाउन आग्रह गर्दै नगरप्रमुख पोखरेलले एक अर्कामा फुटेका मनहरुलाई यस्ता पर्वले एकतामा बाधेर सामाजिक रुपान्तरणमा लाग्न प्रेरणा दिने उल्लेख गर्नुभयो ।

तीज पर्व संस्कृतिको संरक्षणको लागि नगरभित्रका सबै वडामा कमलामाई नगरपालिकाले २५ हजारका दरले आर्थिक सहयोग वितरण गरिएको जनाउदै पोखरेलले हाम्रो धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्न यसले केही हदसम्म भएपनि सहयोग हुने विश्वास नगरपालिकाले लिएको जनाउनुभयो ।

कमलामाइ नगरपालिका तथा अन्य सामाजिक संघसंस्था र ब्यक्तीको सहयोगमा तिज विशेष कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष बिनोद प्रधानले बताउनुभयो । कार्यक्रममा वारियर डान्स सेन्टर लगायत स्थानिय महिलाहरुले तिजका गितहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार ०४:१४

प्रतिक्रिया दिनुहोस्