पुस्तकको सम्पुर्ण कमाइ अशक्तहरुको लागी खर्च गर्छु: डा.ओममुर्ती

काठमाडौं – वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलको नयाँ पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुस्तकको आवरण सार्वजनिक गरिएको हो ।

जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा लेखिएको पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।

आउँदै गरेको पुस्तकको आवरणको सार्वजनिकरण भने डा. ओममूर्तिले छोरी अनिषा र श्रीमती मनिषाको हातबाट गराएका थिए ।

‘मेरो नयाँ पुस्तक यिनै विषयवस्तुहरु जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ,’ उनले आउँदै गरेको पुस्तकको बारेमा भने ।

२०८० असोज ५ गते शुक्रबारबाट बजारमा आउने पुस्तकको शुक्रबारबाटै अनलाइन बुकिङ खुला गरिएको छ ।

२४० पृष्ठको सो पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्ड राखिएको उल्लेख गरिएको छ । पुस्तकको मुल्य ६०० रहेको छ भने विशेष प्रकाशनको मुल्य एक हजार तोकिएको छ ।

स्वस्थ जीवनशैली र जनचेतनाका लागि डा. अनिलले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । ‘पुस्तकबाट एक रुपियाँ पनि प्रतिफल नलिने गरी पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असाहय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसन मार्फत खर्च गरिने डा. अनिलले जानकारी दिए ।

डा. ओम फाउन्डेसनले प्रकाशन गरेको पुस्तक दराज, ई–सेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्म, डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजमा अर्डर गर्न सकिनेछ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार १०:३७

प्रतिक्रिया दिनुहोस्