अपाङ्गमैत्री बास्केटबल खेलग्राउन्ड निर्माण गर्ने बम्जनको प्रतिबद्धता

सिन्धुली – आज ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस सिन्धुलीमा विविध कार्यक्रम गरी मनाइएको छ । “दिगो बिकास लक्ष्य प्राप्तिको प्रतिबद्धता: अपाङ्गता भएका ब्यक्तीको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” भन्ने नारा सहित सिन्धुलीमाढीमा उक्त दिवस मनाइएको हो । सोही अवसरमा सिन्धुलीमाढीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ । 
दिवसको अबसरमा प्रभातफेरि सहित शुभकामना आदान-प्रदान, ह्विलचियर बास्केटबल प्रदर्शनी, कला घर सिन्धुलीद्वारा जनचेतनामुलक सडकनाटक प्रदर्शन, नबज्योती बहिरा मा.बि जसेदमारमा अध्यनरत बिधार्थीहरुद्वारा हस्तकला सामाग्री प्रदर्शनी लगायतको कार्यक्रम प्रस्तुत गरिएको छ ।

सिन्धुली निर्वाचन क्षेत्र नम्बर -२ बागमती प्रदेश, प्रदेश सभा (क) सदस्य माननीय क्षेत्रबहादुर बम्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य बम्जनले अपाङ्गता भएका व्यक्तिले पनि राज्यका हरेक क्षेत्रमा समान अवसर पाउनुपर्ने बताउनुभयो । राज्यका सबै क्षेत्रमा समान अवसर पाउनुपर्ने बताउदै बम्जनले शारीरिक रुपमा कोहि पनि ब्यक्ती अपाङ्ग हुन नसक्ने उल्लेख गर्नुभयो ।

कोहि अपाङ्ग हुन्छ भने बिचारले मात्रै हुन्छ, शारिरिक रुपमा अपाङ्ग देखिएता पनि फरक क्षमता भएका ब्यक्तीले गर्ने गतिबिधी समाजको उदाहरणिय कार्य हुने गरेको उहाँले बताउनुभयो । अपाङ्गता भएका ब्यक्तीलाई अनुकुल हुने गरि आफ्नो पहलमा छिट्टै सिन्धुलीमा अपांगमैत्री बास्केटबल खेलकुद ग्राउन्ड निर्माण गर्ने समेत बम्जनले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

अपाङ्गता भएका व्यक्तिहरू विभेद र अवरोधहरूका कारण क्षमता हुँदाहुँदै पनि समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी हुन नसक्ने विगतको अवस्थामा परिवर्तन ल्याउन सबै सरोकार निकाय, जनप्रतिनिधि, आम नागरिक अग्रसर हुनुपर्ने उहाँको भनाइ छ । उहाँले ‘अपाङ्गता भएका व्यक्तिहरूको राज्य प्रदत्त सेवा सुविधा र अवसर लगायत नागरिक लक्षित हरेक कार्यक्रममा समान पहुँच हुनै पर्ने बताउनुभयो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार १६:०१

प्रतिक्रिया दिनुहोस्