कमलामाई नगरपालिकामा (वास प्लान) कानुन निर्माण कार्य सुरु

सिन्धुली – खानेपानी, सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य हासिल गर्नका लागि तयार गरिएको नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता योजनालाई कार्यान्वयनमा ल्याउनका लागि कमलामाई नगरपालिकाले आवश्यक कानुनहरु निर्माण कार्य थालनी गरेको छ ।

सो कार्यका लागि शुक्रबार सिन्धुलीमाडीमा एक कार्यशालाको आयोजना गरी कानुन निर्माण कार्यको थालनी गरिएको हो । खानेपानी, सरसफाइ तथा स्वच्छताको मौलिक हकको सुनिश्चितताका लागि सिन्धुलीका पाँच स्थानीय तहहरुले वि.सं. २०८७ सम्म कार्यान्वयनमा ल्याइसक्ने गरी खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) तयार गरिसकिएको छ ।

सोही अनुरुप कमलामाई नगरपालिका लगाएत जिल्लाको सुनकोशी, तीनपाटन, मरिण गाउँपालिका र दुधौली नगरपालिकामा लैंगिक रुपान्तरित खानेपानी, सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य परियोजनाको सहयोगमा पालिकास्तरीय वास प्लान तयार भइरहेको छ ।

अन्य पालिका जस्तै कमलामाई नगरपालिकामा समेत कानुन निर्माणको थालनी सक्रियताका साथ भइरहेको र वास प्लान कार्यान्वयनका लागि आवश्यक बजेटको व्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग आवश्यक समन्वय गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद दाहालले जानकारी दिनुभयो ।

नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले खानेपानी तथा सरसफाइको मौलिक हक कार्यान्वयनमा ल्याउनका लागि वास कानुनहरुको निर्माण आवश्यक भएको बताउनुभयो । वास कानुनहरुको निर्माणमा वास एसडिजी परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपाल र मानव तथा राष्ट्रिय विकास समाजले साझेदारी गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १२:०५

प्रतिक्रिया दिनुहोस्