सिन्धुली – कमलामाइ नगरपालिका -४ निवासी स्व. प्रेमबहादुर पोखरेल र स्व. ओमकुमारी पोखरेलको स्मृतिमा शिद्धज्योती शिक्षा क्याम्पसमा “स्व. प्रेमबहादुर र ओमकुमारी छात्रवृत्ति अक्षयकोष” स्थापना गरिएको छ ।
कमलामाइ नगरपालिका -५ स्थित शिद्धज्योती शिक्षा क्याम्पस, फोस्रेटारको १७ औं बार्षिक उत्सवको अबसरमा स्व. पिता प्रेमबहादुर पोखरेल र माता ओमकुमारी पोखरेलको स्मृतिमा उहाँका छोरा तथा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले रु. एक लाखको बिपन्न, दलित तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको हो ।
शिद्धज्योती शिक्षा क्याम्पसमा अध्यनरत विपन्न, जेहेन्दार र दलित छात्रछात्रालाई उक्त कोषबाट बर्सेनि छात्रवृत्ति प्रदान गर्ने उदेश्यले उक्त छात्रछात्रा सहायता कोष स्थापना गरिएको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताउनुभयो ।
उक्त सहायता कोषमा रहेको कुल पुजीको ८० प्रतिशत ब्याजदरबाट बार्षिक रुपमा छात्रछात्रालाइ छात्रवृत्ति प्रदान गरिने र २० प्रतिशत ब्याजदर मुल पुजिमा थप हुँदै जाने गरि अक्षयकोष स्थापना गरिएको क्याम्पस प्रमुख अर्जुन दाहालले बताउनुभयो ।
क्याम्पसको बार्षिक उत्सबकै अबसरमा गएको २०६८ असोज २६ गते बिपि राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिकाको रिठ्ठेभिरमा सडक दुर्घटनामा मृत्यु भएका कमलामाइ नगरपालिका- ४ निवासी शारदा कुमारी कार्कीका छोरा सन्जिब कार्कीको स्मृतिमा बिपन्न, दलित, जेहेन्दार र दुर्घटनामा परि ज्यान गुमाउने अभिभावकका छोराछोरीका लागी छात्रवृत्ति सहायता कोषको समेत स्थापना गरिएको जनाइएको छ ।
शारदा कुमारी कार्कीले क्याम्पसको बार्षिक उत्सबको अबसरमा आफ्नो स्वर्गीय छोरा सन्जिब कार्कीको स्मृतिमा अक्षयकोष स्थापनाका गरिएको जनाउदै उक्त सहायता कोषका लागी रु. एक लाख ११ हजार १११नगद प्रदान गर्नुभएको हो ।
सडक दुर्घटनामा निधन भएका सन्जिब कार्की स्वर्गीय प्रेमबहादुर पोखरेल र ओमकुमारी पोखरेलका नाती हुन ।
स्थापनार्थ दुबै छात्रछात्रा सहायता कोषबाट शैक्षिक वर्षको अन्तिममा क्याम्पसमा अध्यनरत बिपन्न, दलित तथा जेहेन्दार र दुर्घटनामा परेका अभिभावकका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता तथा क्याम्पस संचालक समितीका अध्यक्ष माणिक ढकालको अध्यक्षतामा सम्पन्न क्याम्पसको १७ औं बार्षिक उत्सवको अबसरमा आर्थीक बर्ष ०७९-८० अन्तर्गत क्याम्पसमा अध्यनरत ९१ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको क्याम्पस प्रमुख दाहालले बताउनुभयो ।
क्याम्पसमा अध्यनरत गरिब तथा बिपन्न, दलित र जेहेन्दार ९१ छात्रछात्रालाई रु. एक लाख ७४ हजार ७०० नगद सहित छात्रवृत्ति प्रदान गरिएको क्याम्पसले जनाएको छ ।