र्‍याली र दिप-प्रज्वलन सहित तिनपाटनले आप्रवासी दिवस मनायो

सिन्धुली – आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस । आप्रवासी कामदार र तिनका परिवारको अधिकारबारे सिन्धुलीको तिनपाटन गाउँपालिकाको आयोजना तथा सामी परियोजनाको समन्वय र हेल्भेटास नेपालको प्राबिधिक सहयोगमा र्याली तथा दिप-प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि हरेक बर्ष डिसेम्बर १८ मा मनाइने गरिन्छ । वैदेशिक रोजगारी, पेशा व्यवसाय र अध्ययन लगायतका लागि एक देशबाट अर्को देशमा मानिसहरुको आउजाउ दिनानुदिन बढ्दै गइरहेको छ । विश्वभर पौने तीन अर्ब आप्रवासी रहेको र तीमध्ये आधा भन्दा बढी कामका लागि एक-अर्को देशमा जाने गरेको अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको तथ्यांक छ ।

“आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान” भन्ने नाराका साथ बिश्वभर आयोजित आप्रवासी कामदार दिवसको सन्दर्भमा तिनपाटन गाउँपालिकाले सोमबार पालिकाको चकमके बजार लगायत आसपासको क्षेत्रमा विभिन्न सन्देशमुलक प्लेकार्ड प्रदर्शन सहित र्याली आयोजना गर्दै साझमा दिप-प्रज्वलन गरेको हो ।

तिनपाटन गाँउपालिका वडा नम्बर -११ का वडाध्यक्ष तिलक बहादुर बस्नेतको अध्यक्षता तथा तिनपाटन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर बस्नेत लगायत वडा नम्बर -१० का वडाध्यक्ष पुण्यहरि भुजेल, कार्यपालिका सदस्य, वडासदस्य, सामि परियोजनाका प्रतिनिधि, रोजगार सँयोजक लगायतको उपस्थितीमा बजार र्याली तथा दिप-प्रज्वलन सम्पन्न भएको हो ।

नेपालबाट सरदर वार्षिक दश लाख नेपाली कामका लागि विभिन्न देशमा जाने गरेका छन । नेपालको मुख्य श्रम गन्तव्य खाडी मुलुक र मलेसिया हो । पछिल्लो समय अध्ययनका लागि विदेसिने विद्यार्थीको संख्या भने बढ्दो छ । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि विभिन्न पहल गरिरहेको जनाएको छ ।

प्लेकार्ड सहित आयोजित र्यालीलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत बस्नेतले आप्रवासीहरुको सम्झना गर्दै यसलाई न्यूनीकरण र थप ब्यबस्थित बनाउन स्थानिय तहको गम्भीर भुमिका हुने उल्लेख गर्दै यो बारे जनप्रतिनिधिले नै स्पष्ट नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार १६:४५

प्रतिक्रिया दिनुहोस्