सांस्कृतिक तथा फुड फेस्टिबल -२०८० सिन्धुलीमा शुरु

सिन्धुली : सिन्धुलीको आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन तथा स्थानिय परिकारको प्रचार-प्रसार गर्ने उदेश्यले “सिन्धुली पर्यटन, कृषी, ब्यापार, उद्योग, सांस्कृतिक तथा फुड फेस्टिबल -२०८० शुक्रवारबाट सिन्धुलीमाढीमा शुरु भएको छ ।

ब्रदरहुड इभेन्टस एण्ड इन्टरटेन्मेण्ट प्रा.लिको आयोजनामा शुक्रवार अर्थात आजबाट शुरु भएको सांस्कृतिक तथा फुड फेस्टिबल आगामी माघ ७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । 

कमलामाइ नगरपालिका सिन्धुलीका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा ब्रदरहुड इभेन्टस एण्ड इन्टरटेन्मेण्ट प्रा.लिका प्रबन्धक अस्बिन थापा मगरको अध्यक्षतामा सांस्कृतिक तथा फुड फेस्टिबल -२०८० को औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

“कृषी, ब्यापार, उद्योग र पर्यटनको कसि: सांस्कृतिक तथा फुड फेस्टिबल -२०८०” भन्ने मुल नाराका साथ आयोजना गरिएको सिन्धुली फेस्टिबलमा खासगरी स्थानिय उत्पादनको प्रदर्शन, विभिन्न स्वादका स्थानिय परिकार, स्थानिय तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको साङ्गितीक र हास्यब्यङ्ग सहितको मनोरञ्जनात्मक प्रस्तुती फेस्टिबलको मुख्य आकर्षण रहेको आयोजकले जनाएको छ ।

सिन्धुली फेस्टिबलको उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि तथा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले स्थानिय उत्पादन तथा परिकारहरुको प्रचार-प्रसारको निम्ती यस्ता उत्सव आयोजनाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।

सिन्धुली फेस्टिबल आयोजनाले सिन्धुलीको स्थानिय उत्पादन तथा परिकारहरुको व्यापक प्रचार-प्रसार हुने बिश्वास ब्यक्त गर्दै नगरप्रमुख पोखरेलले यस्ता मेला महोत्सवहरु कुनै एक उदेश्यमा केन्द्रित भएर आयोजना हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

करिब १० दिनसम्म संचालन हुने फेस्टिबलमा स्थानिय कला संस्कृतिको जगेर्ना, मौलिक बाजा-गाजा, स्थानिय उपभोग्य उत्पादित बस्तुको प्रदर्शन तथा बिक्री बितरण, स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरू प्रदर्शनीमा राखिएको आयोजक संस्थाका प्रबन्धक थापामगरले बताउनुभयो ।

आयोजकले सिन्धुली फेस्टिबल अबधिभर २५ देखि ३० हजार बाह्य तथा आन्तरिक पर्यटकले प्रत्यक्ष अबलोकन गर्ने लक्ष राखेको छ । फेस्टिबलमा अन्य मनोरञ्जनका सामाग्री बाल उधान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीहरु राखिएको छ ।

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार १५:५७

प्रतिक्रिया दिनुहोस्