३०२ औँ पृथ्वी जयन्तीः सिन्धुलीगढी स्थित प्रतिमामा माल्यार्पण

सिन्धुली – पौष २७ गते अर्थात आज ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस । सिन्धुलीमा पनि सिन्धुलीगढीमा रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गरि ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइएको छ ।

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अबसरमा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेल साथै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद दाहालले कमलामाई नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष उज्जवल कुमार थापा लगाएत जनप्रतिनिधि स्थानिय संचारकर्मीको उपस्थितीमा पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गर्नुभएको हो ।

नेपाल एकिकरणका प्रणेता पृथ्वीनारायण शाहको स्मरणमा हरेक पुस २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउने गरिएको छ । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अबसरमा माल्यार्पण गर्दै कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले वि.सं. १७७९ पुस २७ गते जन्मिनु भएका पृथ्वीनारायण शाहले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका स–साना राज्यलाई एकीकरण गरेर सफलता हासिल गरेको प्रशंग स्मरण गर्नुभयो ।

नेपालको भू–अवस्थितिको आत्मबोध गरेका पृथ्वीनारायण शाहले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्न सदा स्मरणीय सन्देश छाडेर गएका छन् नगरप्रमुख पोखरेलले भन्नुभयो, ‘उनका दिव्यउपदेशले मात्रै पनि राष्ट्रिय आत्मनिर्भरता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएको छ उहाँले भन्नुभयो ।’

माल्यार्पण कार्याक्रममा सम्वोधन गर्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद दाहालले पृथ्वीनारायण शाहले सुरू गरेको एकीकरण अभियानले नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको उल्लेख गर्दै नेपाल–अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भू–भाग नेपालको अधिनमा रहेको बताउनुभयो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै माल्यार्पण कार्यक्रमको आयोजना गरिएको थियो । पृथ्वीनारायण शाह पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए ।

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार १७:२६

प्रतिक्रिया दिनुहोस्