सिन्धुली – आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता मध्येको एक जना पिडितको बुबाको सवारी दुर्घटनामा बुधबार मृत्यु भएको छ ।
सवारी दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले जानकारी दिए ।
मदन-भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका -९ कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा पिडित भनिएकी किशोरीका बुबा गम्भीर घाइते भएका थिए ।
अनुसन्धानको क्रममा मृतक ब्यक्ती आश्रमबाट बेपत्ता किशोरीको बुबा भएको पुष्टि भएको र उनको मृत्यु भएको सिलवालले बताए ।
प्रहरीका अनुसार, उनले पछिल्लो समय बम्जनको पक्षमा सार्वजनिक अभिव्यक्तिहरु दिँदै आएका थिए ।
दुई मोटरसाइकल मध्ये बा ५८ प ९१४१ नम्बरमा सवार किशोरीको बुबाको मृत्यु भएको छ भने अर्को मोटरसाइकल ना ११ प ५७५० मा सवार अर्का व्यक्तिलाई उपचारपछि डिस्चार्ज गरिएको छ ।
प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । एसपी सिलवालका अनुसार, बम्जनको घटनासँग जोडेर पनि दुर्घटनाको अनुसन्धान हुनेछ । ‘अहिलेसम्म शंकास्पद विषयहरु देखिएका छैनन्, यद्यपि अनुसन्धान सुरु भएको छ’ उनले भने ।
५ वर्षदेखि फरार रहँदै आएका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २५ पुसमा पक्राउ गरेको थियो । जिल्ला अदालत, सर्लाहीको आदेशपछि उनी पुर्पक्षका लागि अहिले थुनामा छन् ।