सिन्धुली – कमलामाई नगरपालिका वडा नं.–५ को आफ्नै सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण भएको छ । कार्यालय भवन निर्माण सम्पन्न भएसँगै अब वडाको सेवासुबिधा आफ्नै भवनबाट प्रवाह सुरु गरिने भएको हो ।
जनप्रतिनिधी तथा स्थानीय नागरिकहरुको पहलमा जग्गाको ब्यवस्थापन गरेपछि भवन निर्माणका लागी केन्द्रिय सरकारले गत आर्थिक वर्षमा बजेट बिनियोजन गरेको थियो ।
वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न भएपछि निर्माण कम्पनीले उक्त भवन बिहिबार एक समारोहका बीच वडा कार्यालयलाई हस्तान्तरण गरेको हो । वडा अध्यक्ष पुर्ण बहादुर खड्का लगायत जनप्रतिनिधी तथा वडा कार्यलयमा कार्यरत कर्मचारीहरुको उपस्थितीमा निर्माण कम्पनीले वडालाई कार्यालय हस्तान्तरण गरेको थियो ।
सघन शहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापबाट बोलपत्र आब्हान गरि कुल १ करोड ३० लाख लागतमा निर्माण गरिएको उक्त भवनको बैठक हल सहित ७ वटा कोठा रहेका छन । उक्त भवनको निर्माण कार्य स्लेट–सिर्जना–रामबोले जेभी निर्माण कम्पनीले २०७९-१२-११ मा ठेक्का सम्झौता गरी समय भन्दा ९ महिना अगाडि नै निर्माण कार्य सम्पनन् गरेको हो ।
निर्माण कम्पनीको तर्फबाट ब्यवसायी उद्धव दाहालले वडा अध्यक्ष पुर्ण बहादुर खड्का, संघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका प्रतिनिधी बिदुर खतिवडा, वडा सचिव उज्जव विक्रम थापा लगायतको उपस्थितिमा नवनिर्मीत भवनको चावी हस्तान्तरण गरेका छन ।
कार्यालयको चाबी लिदै वडा अध्यक्ष खड्काले निर्माण कम्पनीका उद्धव दाहाल लगायत भवन निर्माणमा सहयोग गर्ने सबै निकाय र प्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गरे । नबनिर्मित भवन केही दिनमानै विशेष समारोहका विच उद्घाटन गरि प्रशासनिक काम सुरू गरिने बताईएको छ ।