केन्द्रले तलब नदिएपछी सिन्धुली अस्पतालका चिकित्सक आन्दोलनमा

सिन्धुली – केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराउनुपर्ने तलब सुनिश्चित नभएको भन्दैं सिन्धुली अस्पतालका छात्रवृत्ति करारका चिकित्सकहरु आन्दोलित भएका छन् ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई पटक-पटक ताकेता गर्दा पनि आफूहरुको तलब भत्ताको सुनिश्चितता नभएको भन्दैं करार छात्रवृत्तिका चिकित्सकहरु आन्दोलित भएका हुन् ।

बुधबारबाट उनीहरुले इनप्यासेन्ट, ओपीडी र इमर्जेन्सी सबै सेवा प्रवाह गर्न छाडेका हुन् । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. अभिषेक थपलियाले छात्रवृत्ति करारका चिकित्सक सहित केही स्वास्थ्यकर्मीले बुधबारबाट सेवा दिन छाडेको पुष्टि गरे ।

‘बेला-बेलामा उहाँहरुको तलब ढिला हुने अवस्था छ । दशैंको भत्ता पाउनुभएको छैन् । संघ र प्रदेशले तलब सुनिश्चिता नगरेपछि उहाँहरुले सेवा दिन छाड्नुभएको हो,’ डा. थपलियाले भने, ‘हामी विकास समितिबाट पनि सधैं तलब खुवाउन सक्दैनौं । यसमा संघिय सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।’

उनले पुससम्मको तलब विकास समितिबाट खुवाइएपनि सधैं विकास समितिले थेग्न नसक्ने भएकाले यसको स्थायी हल आवश्यक भएको जानकारी दिए । छात्रवृत्ति करारका चिकित्सकहरुको तलब संघीय स्वास्थ्य मन्त्रालयले अस्पतालमा भुक्तानी गर्नुपर्ने हो ।

तर, अहिलेसम्म सिन्धुली अस्पतालमा छात्रवृत्ति करारका चिकित्सकहरुको तलब संघीय सरकारले भुक्तानी पठाएको छैन । यस विषयमा छात्रवृत्ति करारका चिकित्सकहरुले २९ मंसिरमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग टेकुलाई पत्र पठाएका थिए ।

यद्यपि, उक्त पत्रको सुनुवाई नभएपछि १९ पुससम्मको पारिश्रमिक र दशैं तिहार भत्ता नपाएपछि २० पुसबाट सेवा नदिने अल्टिमेटम दिएका थिए । तर, उक्त अल्टिमेटमपछि पनि कुनै सुनुवाई नभएपछि छात्रवृत्ति करारका चिकित्सकहरुले गएको बुधबारबाट सेवा दिन छाडेका हुन् ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार ०३:५९

प्रतिक्रिया दिनुहोस्