राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी कमलामाई नगरपालिकाले जित्यो

सिन्धुली – १२ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी कमलामाई नगरपालिकाले जितेको छ । कमलामाई नगरपालिका –६, खुल्लामञ्च खेलमैदानमा सन्चालित प्रतियोगितामा ३१ पदक हात पार्दै कमलामाई नगरपालिकाले पहिलो स्थान बनाएको हो । कमलामाई नगरपालिकाले १७ स्वर्ण, ८ रजत र ६ कास्य पदक जितेर पहिलो बनेको छ ।

१४ स्वर्ण, १३ रजत र ९ कास्य गरी ३६ पदक जित्दै दुधौली नगरपालिकाले दोस्रो स्थान ओगट्न सफल भएको छ । ५ स्वर्ण, ८ रजत र १ कास्य गरी १४ पदक जितेर तीनपाटन गाउँपालिका भने तेस्रो भयो ।

५ स्वर्ण, ६ रजत र १३ कास्य गरी २४ पदक जितेर फिक्कल गाउँपालिकाले सानत्वना स्थान हासिल गरेको छ । मरिण गाउँपालिकाले ५ स्वर्ण, ४ रजत, ४ कास्य, हरिहरपुरगढी गाउँपालिकाले ३ स्वर्ण, ६ रजत, ६ कास्य पदक जितेको छ ।

गोलन्जोर गाउँपालिकाले ३ स्वर्ण, ५ रजत र ६ कास्य, सुनकोशी गाउँपालिकाले २ स्वर्ण, ४ रजत र १ कास्य पदक जित्दा घ्याङलेख गाउँपालिकाले भने प्रतियोगितामा कुनै पनि पदक जित्न सकेन ।

प्रतियोगीहरुलाई कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेल, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कोईराला, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनाल, प्रहरी उपरिक्षक राजकुमार सिलवाल लगाएतले पुरस्कार, पदक, ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

तीन दिनसम्म संचालित प्रतियोगितामा भलिबल, कवड्डीमा महिला पुरुष, कराँते, तेक्वान्दो, एथलेटिक्स (महिला पुरुष) दौड प्रतियोगिता रनिङशील्डमा समावेश गरिएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार ०४:५९

प्रतिक्रिया दिनुहोस्