सिन्धुली – सुनकोसी गाउँपालिका-३ झागाझोली कालिमाटी स्थित श्रीकृष्ण प्रणामी मन्दिरको १०८ औं बार्षिक उत्सव एबम मन्दिर पुनः निर्माण सहयोगको लागी श्री तारतम सागर १०८ पाठ परायण साप्ताहिक ज्ञान महायज्ञको आयोजना गरिने भएको छ ।
१०८ औं बार्षिक उत्सव एबम मन्दिर पुनः निर्माण सहयोगको लागी आउदो फागुन ३ गतेदेखी ९ गतेसम्म महायज्ञको आयोजना गरिएको आयोजक संस्थाले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त श्री बिभुषित जगतगुरु आचार्यश्री कृष्णमणि महाराजश्री, श्री ५ नवतनपुरी धाम जामनगरको आशिर्वाद प्राप्त सप्ताहब्यापी ज्ञान महायज्ञमा श्रीकृष्ण प्रणामि धर्म निजानन्द सम्प्रदायका परमहन्स पिठाधिश्वर लगायत साधु सन्त, महन्त, पण्डित, प्रचारक, प्रचारिकाको उपस्थिती उल्लेख्य रहने आयोजकले संस्थाले जनाएको छ ।
श्री तारतम सागर १०८ पाठ परायण साप्ताहिक ज्ञान महायज्ञबाट संकलित दान दातब्य बाट जिर्ण अबस्थाको माटो ढुंगाले बनेको मन्दिरको पुनः निर्माण गरिने र मन्दिर सञ्चालनार्थ अक्षय कोष स्थापना गर्ने लक्ष आयोजक संस्थाको लिएको छ ।
१०८ पाठ पारायण आयोजक मुल समारोह समितीका संयोजक खिल प्रसाद घिमिरेले पत्रकार सम्मेलन मार्फत विभिन्न संघ/संस्था, दाता भक्तजनबाट पाठपरायणको विभिन्न शिर्षकमा उठेको र प्रतिबद्धता गरिएको सहयोगबाट करिब ६० लाख रुपैयाँ आर्थिक सहयोग संकलन हुने अनुमान गरिएको बताए ।
सहयोगार्थ संकलित उक्त रकमबाट महायज्ञ संचालनको लागी करिब ३५ लाख रुपैयाँ खर्च हुने र त्यस मध्येमा करिब २५ लाख बचत हुने अनुमान आयोजकले राखेको छ । उक्त सहयोगार्थ संकलित रकमबाट खर्च कटाएर बचेको रकमले मन्दिरको लागी अक्षयकोष स्थापना तथा मन्दिरको भवन पुनः निर्माणको लागी खर्च गरिने आयोजक समितीका संयोजक घिमिरेले बताए ।
आयोजक संस्था श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल श्रीकृष्ण प्रणामी मन्दिर कालिमाटीका अनुसार फागुन ३ गते १०८ कलश शोभा यात्रा तथा भुमी पुजन सहित १०८ पारायण शुभारम्भ हुनेछ । सोही अबसरमा फागुन ५ गते शुभ उपनयन (ब्रतबन्ध) सामुहिक कार्यक्रम र गुन्युचोली बितरणको कार्यक्रम राखिएको जनाइएको छ ।
त्यस्तै, फागुन ७ गते रक्तदान, फागुन ८ गते आँखा शिबिर कार्यक्रम, अशक्त ७० बर्ष माथिका बृद्धबृद्धाहरुलाई लौरो बितरणको कार्यक्रम र अहिंसा प्रबर्तन साथै दुर्ब्यसन विरुद्ध सचेतना लगायतको सामाजिक कार्यक्रम समेत साप्ताहिक ज्ञान महायज्ञको क्रममा राखिएकोले अझ महत्वपूर्ण रहेको पत्रकार सम्मेलनका प्रमुख अतिथी तथा सुनकोसी गाउँपालिका वडा कार्यालय -३ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताए ।
पत्रकार सम्मेलन मार्फत ठूलो संख्यामा सन्त गुरुजन लगायत सुन्दरसाथ भक्तजनको उपस्थितिमा सम्पन्न हुन लागिरहेको ऐतिहासिक बिशाल धार्मिक महोत्सवमा सम्पुर्णलाई उपस्थितीको लागी आयोजकको तर्फबाट निमन्त्रणा गर्दछु, ‘वडाध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलन मार्फत अनुरोध गरे ।