निःशुल्क मुटु स्वास्थ्य शिविरबाट चार सय ३७ बढी लाभान्वित

सिन्धुली – जिल्लाको घ्याङ्लेख गाउँपालिका-५ रामपुरमा भएको निशुल्क मुटु जाँच स्वास्थ्य शिविरबाट ४ सय ३७ सर्बसाधारण लाभान्वित भएका छन् । नेपाल तरुण दल सिन्धुलीको आयोजनामा शनिबार आयोजना भएको शिविरमा ४ सय ३७ जनाले निशुल्क सेवा लिएको तरुण दल सिन्धुलीका अध्यक्ष सहदेब मैनालीले जानकारी दिए । 

शिविरमा उपचार लिएकाहरुले इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निशुल्क जाँच गराइएको उनले बताए । शिविरमा मुटुरोग विशेषज्ञ डा. निश्चल शाहको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले निःशुल्क उपचार प्रदान गरेका थिए ।

नेपाली कांग्रेस सिन्धुली क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य छेत्रबहादुर बम्जनको प्रमुख आतिथ्यतामा निशुल्क मुटु रोग स्वास्थ्य शिबिरको उद्घाटन गरिएको हो । एन्जल पोलिक्लिनिकको प्राविधिक सहयोगमा आयोजना गरिएको शिबिरमा मुटु जाँचका लागि आएका व्यक्तिहरुलाई निशुल्क परामर्श सेवा सहित आवश्यकताका आधारमा औषधी वितरण गरिएको अध्यक्ष मैनालीले जानकारी दिए ।

उपचार सेवा लिएकाहरुले गाउँमै निशुल्क मुटुको जाँच गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । अन्यत्र अस्पतालमा पुगेर हजारौं रुपियाँ खर्च गरेर गर्नुपर्ने मुटुको जाँच सेवा स्थानीय स्तरमा विशेषज्ञ चिकित्सकबाट जाँच गर्न पाएको भन्दै खुशी व्यक्त गर्दै शिबिर आयोजना गरी सहयोग गर्ने सबैलाई कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश सभा सदस्य बम्जनले  धन्यवाद व्यक्त गरे । 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार १५:०२

प्रतिक्रिया दिनुहोस्