लाखौं ठगीको आरोपमा सिन्धुलीकी कार्की सहित तीन पक्राउ

काठमाडौ वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौं ठगी गरेको आरोपमा सिन्धुलीको कमलामाई नगरपालिका–११ स्थायी घर भइ हाल काठमाडौं गोकणेश्वर बस्ने ३७ वर्षीय अस्मिता कार्की सहित तीन जनालाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

आरोपित महिला कार्कीले कान्छा बल समेत तीन जनालाई मलेसिया जान प्रतिव्यक्ति तीन लाख ५० हजार रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब ६० हजार रुपैयाँ हुन्छ भनी प्रलोभनमा रकम अशुल गरि ठगी गरेको आरोपमा ऊनी सहित अन्य तीन जनालाई प्रहरिले पक्राउ गरेको हो ।

२६ वर्षीय पुरमान भन्ने फरमान हवारीले निरज सेन्चुरी समेत चार जनालाई दुबई जान प्रतिव्यक्ति तीन लाख ५० हजार रूपैयाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित कम्पनीमा मासिक तलब ७० हजार रुपैयाँ हुने भनी पीडितहरूबाट पटकपटक गरी ११ लाख ६६ हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन बनेको प्रहरीले जनाएको छ ।

स्थायी घर बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ भइ हाल काठमाडौं बस्ने हवारीलाई कागेश्वरी मनहरा नगरपालिका गोठाटारबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

यस्तै, क्रोएसिया पठाउने भनी आठ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका ३२ वर्षीय हिराजन पन्त पक्राउ परेका छन् । प्रहरीका अनुसार स्थायी घर तनहुँ ब्यास नगरपालिका–१० भइ हाल काठमाडौं सामाखुशी बस्ने पन्तले समिर आचार्यलाई क्रोएसिया जान नौ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्याकिङको काममा मासिक तलब एक लाख ५० हजार हुने भनी प्रलोभनमा पारेका थिए । 

निजहरु माथि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार ०६:४१

प्रतिक्रिया दिनुहोस्