सिन्धुली – संघीय र प्रदेश सरकार अन्तरगत जिल्लामा रहेका कार्यालयहरुको अर्धबार्षिक समिक्षा कार्यक्रम बुधबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिती सिन्धुलीको आयोजनामा चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम अर्धबार्षिक अबधीमा सम्पन्न तथा कार्यान्वयनको चरणमा रहेको कार्यक्रमहरुको अर्धबार्षिक प्रगती समीक्षा सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८०/०८१ को प्रथम अर्धबार्षिक अबधीमा सम्पन्न तथा कार्यान्वयनको चरणमा रहेको कार्यक्रमहरुको जिल्ला स्थित कार्यालयहरुको बजेट तथा कार्यान्वयनको अवस्थाबारे सम्बन्धित कार्यालयहरुले प्रगती समीक्षा कार्यक्रम मार्फत जानकारी गराएका हुन ।
जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख कारसाङ्ग लामाको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
बिगत ६ महिनाको प्रगती समिक्षामा सन्तोषजनक उपलब्धि हासिल हुन नसक्दा बिकास प्रभावित बनेको भन्दै बाकी अबधिमा निर्धारित लक्ष्य प्राप्त हुने गरि कार्य सम्पादनमा जुट्न कार्यक्रमका प्रमुख अतिथी आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले आग्रह गर्नुभयो ।
कतिपय बहुबर्षिय र राष्ट्रिय गौरवका आयोजनामा निर्माण कम्पनीको लापरबाही ,आयोजनामा हुने बजेट रकमान्तर र बजेट कटौतिका कारण रकम अभाव हुने मुख्य समस्या रहेको समिक्षा कार्यक्रम मार्फत औंल्याइएको छ ।
खासगरी पालिकाहरुमा बेरुजु मुख्य समस्या देखिनु चिन्ताजनक भएको भन्दै प्रचारमुखी काम भन्दा जनहितकारी काममा स्थानिय तह केन्द्रित हुन मन्त्री श्रेष्ठले आग्रह गरे । समीक्षा कार्यक्रममा जिल्लाका २१ भन्दा बढी सरकारी कार्यालयहरुले संस्थाले गरेका काम-कारबाही र कार्यान्वयनको अबस्थाबारे प्रकाश पारेका थिए ।