बम्जन आश्रम आसपास स्थानीयलाई प्रवेश निषेध, स्थानीयको आक्रोस

सिन्धुली – २९ फागुन । तपस्वि रामबहादुर बम्जनको सिन्धुली स्थित आश्रम आसपासमा स्थानीयलाई प्रवेश निषेध गरेको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन ।

कमलामाई नगरपालिका -८ पैरे सिन्धुलीमा रहेको आश्रम आसपास, खोला, वनजंगल तथा वर्षौदेखि प्रयोग गर्दै आएको सडक तथा मृत्यु संस्कार गर्ने घाट समेतमा प्रवेश रोक लगाइएको स्थानीयको आरोप छ ।

कमलामाई नगरपालिका ८ स्थित रक्तदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा स्थानीय मकर मोक्तानका अनुसार बम्जनका अनुयायी तथा गुरुमार्गगुरुहरुले माथीको आदेश भन्दै स्थानीयमाथी अभद्र व्यवहार गर्ने गरेका छन ।

‘हाम्रो घाँस दाउरा देखि वडा कार्यालय र घाट जानेबाट समेत बम्जनको आश्रम हुँदै हो । तर, अहिले शान्ति क्षेत्रका नाममा उनिहरुले हामीलाई त्यहा प्रवेश गर्न समेत दिएका छैनन, उनले भने ।’

बोधि श्रवण धर्म संघको व्यवस्थापनमा २०७४ असोजदेखि पैरेमा बम्जनको आश्रम निर्माण थालिएको थियो । करिव २० विगाह नम्बरी र ४० विगाह बढी ऐलानी गरी झण्डै ६० विगाह क्षेत्रफलमा अग्ला पर्खाल र काँडेतारको घेरा हालेर आश्रम बनाइएपछि सामुदायिक वनको अधिकार भित्र रहेको घाँसदाउरा तथा अनुगमन समेत हुन नसकेको मोक्तानले बताए ।

कमलामाई नगरपालिका ५ स्थित दक्षिणकाली सामुदायिक वन समेत उक्त आश्रम क्षेत्रमा पर्दछ । समुहका अध्यक्ष इन्द्र श्रेष्ठका अनुसार वन समुहको कार्ययोजना तथा डिभिजन बन कार्यालयको स्विकृतीमा दिगो वन व्यवस्था अनुसार कटान गरिएको स्थल अनुगमनका लागी गएका जनप्रतिनीधि, कर्मचारी तथा स्थानीयलाई समेत बम्जनका अनुयायीहरुले घेरा हाली दुव्र्यवहार गरेको आरोप लगाए ।

उनले भने, ‘सोमबार हामी वडा अध्यक्ष पूर्णबहादुर खड्का, वनका कर्मचारी, वन समुहका पदाधिकारी तथा स्थानीयहरु काठको अनुगमनका लागी आश्रम नजिकै पुग्दा बाटो छेकेर हिड्न दिएनन ।

उनिहरुले कस्को अनुमतीले यहा आएको शान्ति क्षेत्रमा शान्ति भंग गरेको भन्दै जवरजस्ती गरे जेपनी हुन सक्ने चेतावनी दिए ।’ बम्जनको आश्रम स्थापना भएदेखि कमलामाई नगरपालिका ५ को दक्षिणकाली, सरस्वती, कमलामाई नगरपालिका ८ को चुनदेवी, रक्तदेवी लगायतका सामुदायीक वन समुहका उपभोक्ताहरुलाई आश्रम आसपास प्रवेश रोक लगाउदै आएको गुनासो छ ।

जसका कारण सिलामे, शाखाजोर, बेसारे, धुसुने, पैरे लगायतका सर्वसाधारण त्रासमा छन । स्थानीयले घाँस दाउरा गर्न वन समुह भित्र जाँदा समेत आफुहरुमाथी दुव्र्यवहार गर्ने गरिएको कमलामाई नगरपालिका ५ सिलामेकी स्थानिय मैना श्रेष्ठको गुनासो छ ।

‘हामीले पुस्तौंदेखि यही वन क्षेत्रमा घास दाउरा गर्दै आएका थियौं । अहिले आश्रमका मान्छेले घास लिएर हिड्न समेत दिदैनन । प्रतिबाद गरे जे पनि हुनसक्ने धम्की दिन्छन,’ उनले गुनासो गर्दै भनिन ।

उता सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठले बम्जन आश्रमका कारण तिनवटा समुहको वन क्षेत्र समेत अतिक्रमण भएको बताए । ‘हामीले अनुगमनका क्रममा वन समुहको क्षेत्र समेत अतिक्रमण भएको पाएका छौं ।

उनिहरुको जग्गा बाहेक ऐलानी र वन क्षेत्रको जग्गा खाली गर्न स्थानीय प्रशासन संग समेत पटक पटक अनुरोध गरिएको छ । तर कुनै सुनुवाई भएको छैन,’ श्रेष्ठले भने ।

राज्यले सामुदायिक वनको संरक्षण, उपयोग र व्यवस्थापनको जिम्मा स्थानीयलाई दिएकोले त्यसको रेखदेख, गोडमेल, डढेलो नियन्त्रण लगायतका काम जंगलमै गएर गर्नु पर्ने हुन्छ तर त्यहा समुहका उपभोक्तालाई प्रवेशनै गर्न नदिनु दुःखको कुरा भएको उनको भनाई छ ।

कमलामाई नगरपालिका ५ का वडा अध्यक्ष पूणर्बहादुर खड्काले आफुहरु संस्थागतरुपमा वन र सिलामे-बेसारे सडक अन्तरगत निर्माण गरिएको कल्भर्ट अनुगमनका लागी जानेक्रममा बम्जनका अनुयायीहरुबाट अपमान सहनु परेको बताए ।

‘आश्रम नजिकै बनेको कल्भर्ट र काठको अनुगमन गर्न गएका थियौं तर त्यहा कसको अनुमतीले आएको, यहाँ आउने हिम्मत कसरी गरेको भन्दै धम्की आयो । मैले जनप्रतिनीधि भएको जानकारी गराउदा समेत हिड्न दिइएन । त्यहाँ उनिहरुको छुट्टै राज रहेछ ।

मलाई उनिहरुको व्यवहार देख्दा अर्को कुनै राज्य हो जस्तो दुःखद अनुभुती भयो,’ खड्काले भने । अधेरी खोला हुँदै कुर्लेखोलासम्म अनुगमनका क्रममा गएको उनको भनाई छ ।

उता बोधि श्रवण धर्म संघ सिन्धुलीकी अध्यक्ष फुलकुमारी घिसिङले आश्रम भित्र प्रवेश गर्न गुरुहरुको अनुमति आवश्यक भएपनि आश्रम बाहिर जानआउन रोक नलगाइएको स्पष्ट पारिन । ‘हामीले त्यहा स्थानीय व्यक्तिहरुलाई आवतजावत गर्न कुनै रोक लगाउने कुरा छैन ।

तर, गुरुमार्गहरुले नबुझेर स्थानीयलाई दुःख दिएको पाइयो । हिजोको घटना पनि त्यही अनुसार घटेको हो । हामी त्यस घटनाबाट दुखित पनि भएका छौँ । अव त्यस्तो अवस्था आउन दिँर्दैनौं,’ उनले थपीन ।

‘लिटल बुद्ध’का नामले चिनिएका तपस्वी बम्जनलाई हाल आनी तथा बालिका अपहरण, बन्धक, वेपत्ता बनाएको तथा बलत्कार गरेको आरोपमा पक्राउ परी अनुशन्धानमा छन ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १४:०४

प्रतिक्रिया दिनुहोस्