गोलन्जोर गाउँपालिकाको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सिन्धुली – जिल्लाको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को गाउँपालिकाको बिकास योजना र नियमित सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ मंगलबार सम्पन्न गरेको छ ।

गाउँपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम, आय व्ययको समीक्षा तथा पालिकाले सम्पादन गरेको कामको प्रभावकारीता र नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । अंकपत्र मिडिया ग्रुपको सहजीकरण तथा गोलन्जोर गाउँपालिकाको आयोजनामा सार्बजनिक सुनुवाइ आयोजना गरिएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को गाउँपालिकाको बिकास योजना र नियमित सेवा प्रवाह सम्बन्धी प्रतिवेदन प्रमुख प्रशासकिय अधिकृत ठाकुर प्रसाद दाहालले प्रस्तुत गर्नुभएपछी प्रतिवेदनका आधारमा पालिकाको सेवाको विषयमा सवाल-जवाफ भएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिकाका अध्यक्ष शंकरराज बरालको अध्यक्षतामा संचालन भएको हो । स्थानिय तह नीति तथा कार्यक्रम र बजेटको सन्दर्भमा पारदर्शी हुनुपर्ने भन्दै गाउँपालिकाबाट प्रवाह भएका सेवालाई आम नागरिकमाझ सुसूचित गराउन सार्वजनिक सुनुवाइ कार्यक्रम महत्त्वपूर्ण रहेको गाउँपालिकाका अध्यक्ष बरालले बताउनुभयो ।

अहिले देशमा गल्ती गर्नेहरूले सजाय पाइरहेको भन्दै उहाँले सुशासन कायम हुँदा कसैले धर नपाउने बताउनुभयो । ठुलो सङ्घर्षबाट स्थानीय तह निर्माण भएकाले जनप्रतिनिधि सबैको साझा हुनुपर्ने उहाँको भनाइ थियो ।

सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले पालिकाको बजेट, नीति तथा कार्यक्रम निर्माण, योजना छनौट, बजेट बिनियोजन तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए ।

आफ्नो कामको पालिका आफैले सार्वजनिक सुनुवाइ गर्नुभन्दा अन्य निकायलाई गर्न लगाउँदा अझै विश्वसनीय हुने भएकाले सेवा प्रदायक संस्थालाई सार्वजनिक सुनुवाइ गर्न दिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले बताउनुभयो । 

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, राजनैतिक दलका प्रमुख एबम प्रतिनिधि, पत्रकार तथा संचारकर्मी, सुरक्षा निकाएका प्रमुख, जनप्रतिनिधी तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो ।

कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न र बिकास निर्माणका बिगतमा बनेका संरचनालाई पनि निरन्तरता दिदै महत्वपुर्ण योजनाहरु अघि बढाउन सुझाब दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार ११:००

प्रतिक्रिया दिनुहोस्