सिन्धुली — कमलामाइ नगरपालिका र सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीको सयुक्त लगानीमा खरिद गरिएको दमकल सोमबार खुल्लामञ्चमा परिक्षण गरिएको छ ।
आगलागीबाट हुने क्षति न्यूनिकरण गर्न दमकल खरिदका लागि सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा सदरमुकाम सिन्धुलीमाढीमा पुस ८ गतेदेखि १८ गतेसम्म १० दिने छैठौं सिन्धुली महोत्सव–२०७९ आयोजना गरिएको थियो ।
उक्त महोत्सवको कुल आम्दानीको मुनाफाको रकमबाट दमकल खरिद गर्ने योजना बनाइएको थियो । संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार पैसा जुटाएर दमकल किन्ने योजना महोत्सवको मुख्य उद्देश्य राखिएको थियो । दमकल खरिद गर्न एक करोड २५ लाख रुपैयाँ खर्च हुने आकलन गरिएको थियो ।
हाल सदरमुकाम सिन्धुलीमाडीमा कमलामाई नगरपालिकासँग कम क्षमताको एउटा मात्रै दमकल रहेको थियो । सदरमुकाममा एउटा मात्र दमकल हुँदा गर्मी मौसममा हुने ठूला आगलागीका घटनाबाट हुने क्षति न्यूनिकरण गर्न समस्या भएको कमलामाइ नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेलको भनाइ छ ।
नौ वटा स्थानीय तहमध्ये कमलामाई र दुधौली नगरपालिकामा मात्र दमकल छ । उद्योग बाणिज्य संघ सिन्धुली र कमलामाइ नगरपालिकाको सयुक्त लगानीमा खरिद गरिएको यस दमकलको पुरानो दमकलको क्षमता भन्दा बढी छ ।
दमकल खरिदको सम्पुर्ण जानकारी पत्रकार सम्मेलन मार्फत गराइ सार्बजनिक गर्ने र नगरपालीका लाई हस्तान्तरण गर्ने योजना रहेको जनाउदै संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले सोमबार बिहान मात्रै सिन्धुलीमाढी ल्याइएको दमकलको परिक्षण मात्रै अहिले गरिएको जानकारी दिए ।