१३५ औं श्रमिक दिवसको अबसरमा सिन्धुलीमा दिप प्रज्वलन

सिन्धुली – आज मे १ अर्थात् १३५ औं अन्तर्राष्ट्रिय श्रमिक अजदुर दिवस । ‘सबैका लागि सामाजिक न्याय तथा मर्यादित काम’ भन्ने नाराका साथ नेपाल ट्रेड युनियन कांग्रेस सिन्धुलीको आयोजनामा दिप प्रज्वलन गरि सिन्धुलीमाढीमा श्रमिक दिवस मनाइएको छ ।

नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा नेपाल ट्रेड युनियन कांग्रेस सिन्धुलीका अध्यक्ष श्यामहरी अधिकारीको अध्यक्षतामा दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर श्रमिक दिवस मनाउन लागिएको कार्यक्रमका प्रमुख अतिथी पोखरेलले स्मरण गर्नुभयो । पोखरेलका अनुसार नेपालमा भने विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

विश्वभरका मजदुरले दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँने गरिएको हो ।

देशभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा पोखरेलले जोड दिनुभयो । उहाँले आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनुपर्ने बताउनुभयो ।

श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधारसमेत रहेको उल्लेख गर्दै नेपाल ट्रेड युनियन कांग्रेस सिन्धुलीका अध्यक्ष श्यामहरी अधिकारीले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने स्पष्ट पार्नुभयो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष अधिकारिले श्रमिकका सवालमा हुने छलफल तथा हक, अधिकार र न्याय सम्पादनका लागी कमलामाइ नगरपालिकाका नगरप्रमुख समेत रहेका पोखरेललाई श्रमिक हेल्प डेष्क स्थापनाका लागी पहल गरिदिन समेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार १४:२२

प्रतिक्रिया दिनुहोस्