कमलामाईका बिपन्न तथा एकल महिलालाई बाख्रा बितरण

सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिकाले व्यावसायिक बाख्रापालनका लागि विपन्न तथा एकल महिलालाई आइतबार एक कार्यक्रमका बिच अनुदान स्वरुप उन्नतजातका बाख्रा वितरण गरेको छ ।

कमलामाइ नगरपालिकाको ११ र १२ नम्बर वडाका ४० विपन्न तथा एकल महिला परिवारलाई ८३ वटा उन्नत जातका बाख्रा नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो ।

नगरको प्राथमिकता योजना अन्तर्गत पशु बिकास शाखाको आर्थिक बर्ष २०८०/०८१ को बिपन्न लक्षित बाख्रा अनुदान कार्यक्रमका लागी नगर कार्यपालिकाले रु. ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । सोही बजेट अनुसार बाख्रा खरिदका लागी सिमलथली एग्रो प्रा.ली हेटौडाले रु. ५४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

कमलामाइ नगरपालिकाले चालू आ.बमा नगरपालिकाको वडा नम्बर १,११,१२,८ र १३ नम्बर वडा अन्तर्गतका वडाबाट सिफारिस भइ आएका बिपन्न तथा एकल महिला परिवारलाइ २ सय ८ वटा उन्नतजातका बाख्रा बितरण गर्ने कार्यक्रम राखेको छ ।

जस अन्तर्गत पहिलो चरणमा नगरपालिकाका दुई वडाका ४० परिवारलाई आइतबार बाख्रा बितरण गरिएको हो । बाकि वडाका बिपन्न परिवारलाई क्रमशः बितरण गरिदै जाने कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बताउनुभयो ।

व्यावसायिक रूपमा उन्नत जातका बाख्रापालन गरेर बिपन्न नागरिकहरुको आर्थिक जीवनस्तर माथि उठाउने र आय आर्जनमा टेवा पुर्‍याउने उद्देश्यले नगरपालिकाले बिपन्न लक्षित बाख्रा अनुदान कार्यक्रम अन्तर्गत उन्नतजातको बाख्रा बितरण गरेको नगरप्रमुख पोखरेलको भनाइ छ ।

पशु बिकास शाखाका प्रमुख रोशन कोईरालाले इलोक्ट्रोनिक बिडिङ माध्यमबाट उक्त बाख्रा खरिद गरिएको जानकारी दिए । नगरभित्रका बिपन्न तथा एकल महिलालाई कम्तिमा दुइवटाको संख्यामा बाख्रा बितरण गरिएको छ ।

कमलामाइ नगरपालिका -१२ का संकरे सार्कीले आफूजस्तो कोही नभएको गरिबलाई नगरपालिकाले अनुदान स्वरुप उन्नत जातका बाख्रा सहयोगले आफुलाइ बाँच्ने साहारा मिलेको बताउनुभयो । आफुले किन्दा एउटै बाख्राको मूल्य २५ देखि ३० हजार पर्ने हुँदा नगरपालिकाले नि:शुल्क बाख्रा दिएपछी आफूलाई निक्कै खुशी लागेको संकरे सार्की बताउछन ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ०७:४९

प्रतिक्रिया दिनुहोस्