सिन्धुली – जिल्ला अस्पताल सिन्धुलीको स्तर वृद्धि भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले बागमती प्रदेश सरकार मन्त्री परिषदको मिति २०८० पौष ३ गतेको निर्णयअनुसार एक सय सैय्याको अस्पताल संचालनको लागी पत्राचार गरेको हो ।
यसअघि जिल्ला अस्पताल ५० बेडको स्वीकृत भइ संचालन हुँदै आएको थियो । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) का प्रदेश सभा सदस्य क्षेत्रबहादुर बम्जनको पहलमा तत्कालिन बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको सिफारिसमा सिन्धुली अस्पताललाई सय सैय्यामा स्तरउन्नती गर्न स्वीकृत प्रदान गरिएको थियो ।
बागमती प्रदेश सरकार मन्त्री परिषदको मिति २०८० पौष ३ गतेको निर्णय अनुसार नै अस्पताललाई सय सैय्यामा स्तरउन्नती गर्ने निर्णय भएको भएपनी २०८१ जेष्ठ ६ गते मात्रै मन्त्रालयले उक्त निर्णय स्वीकृत भएको भनी जिल्ला अस्पताललाई पत्राचार गरेको छ ।
जिल्ला अस्पताल सिन्धुली सहित बागमती प्रदेश मातहतका १० अस्पतालहरुको स्तरउन्नती गर्ने निर्णय सोही मिति २०८० पौष ३ गते बागमती प्रदेश सरकार मन्त्री परिषदले निर्णय गरेको थियो ।
तत्कालिन स्वास्थ्य मन्त्री उत्तम जोशीको पहलमा प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश क्षेत्रका १० अस्पतालको स्तरोन्नति गर्ने र प्राविधिक सहित १६६९ कर्मचारीहरूको सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय गरेको थियो, ‘प्रदेश सभा सदस्य क्षेत्रबहादुर बम्जनले अंकपत्रलाई जानकारी दिए ।’
उहाँका अनुसार भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई ३०० बेड क्षमतामा स्तरोन्नति गर्ने निर्णय भएको थियो भने धादिङ अस्पताल, नुवाकोटको त्रिशूली अस्पताल, सिन्धुली अस्पताल र चितवनको बकुलर अस्पताललाई १०० वेड क्षमतामा स्तरोन्नति गर्ने निर्णय भएको थियो ।
त्यस्तै, सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० शय्याका अस्पतालका रूपमा स्तर वृद्धि गर्ने निर्णय भएको थियो ।
सिन्धुली अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि उपचार पाउनबाट वञ्चित बिरामीले अब जिल्ला अस्पतालबाटै सहज रूपमा उपचार सेवा पाउने प्रदेश सभा सदस्य बम्जनले बिश्वास ब्यक्त गर्नुभयो । सिन्धुली अस्पतालमा क्रमिक रुपमा बेड सङ्ख्यासँगै जनशक्ति र औषधि लगायतको प्रबन्ध गर्नेगरी काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।