कमलामाई -६ लाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ६ लाई यहि असार मसान्तसम्ममा बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता बुधबार एक कार्यक्रमका बिच सामुहिक रुपमा गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल तथा ह्याण्डस नेपालको साझेदारी र कमलामाइ नगरपालिकाको समन्वयमा वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता गरिएको हो ।

जिल्ला समन्वय समिती सिन्धुलीका उप-संयोजक शान्ता कार्कीको प्रमुख आतिथ्यतामा वडा अध्यक्ष उज्वल कुमार थापा, जनप्रतिनिधि, कर्मचारी र संचारकर्मीहरुको उपस्थिति र सहमतिमा उक्त प्रतिबद्धता गरिएको हो ।

वडा कार्यालयले जनप्रतिनिधि, कर्मचारी र संचारकर्मीहरुको सहभागितामा सो प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको छ ।

सो प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर २०८१ साल असार मसान्तसम्म कमलामाइ नगरपालिका – ६ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने सामूहिक प्रतिबद्धता गरिएको छ ।

सो अवसरमा बोल्नुहुँदै वडाध्यक्ष उज्वल कुमार थापाले बालमैत्री वडा घोषणा गर्न निकै चुनौतीपूर्ण रहेको जनाउनुहुँदै २०८१ साल असार मसान्तसम्म जसरी पनि बालमैत्री शासन घोषणा गरेरै छाडिने बताउनुभयो ।

सोही अवसरमा बोल्नुहुँदै समन्वय उप-संयोजक शान्ता कार्कीले जिल्लाको सदरमुकाम मानिने सिन्धुलीमाढी स्थित वडा नम्बर ६ भएको र यहाँ धेरै होटल, ब्यापारिक केन्द्रहरु भएकाले बालअधिकार स्थापित गर्न केही समस्या देखिएको जनाउँदै अब सबैले मिलेर बालमैत्री शासनका लागि चाहिने सूचकहरू पूरा गरेर यो काम गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले वडालाइ बालमैत्री शासन घोषणा गर्ने प्रतिबद्धतालाई पूरा गर्न सबै वडावासी, संचारकर्मी, जनप्रतिनिधी, कर्मचारीको पनि सहयोग र समर्थनको आबस्यक्ता रहेको बताउनुभयो ।

सो अन्तरक्रिया कार्यक्रममा बालमैत्री स्थानीय शासन सम्बन्धी विभिन्न सूचक र त्यसलाई कार्यान्वयनका बारेमा संचारकर्मी लगायत सहभागीहरूलाई जानकारी गराइएको थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बुधबार १०:५४

प्रतिक्रिया दिनुहोस्