लागु औषध त्यागेर जीवनलाई जितेका- जितबहादुर

सिन्धुली – कलिलो उमेरमा आमाको तिलहरी र बुलाकी बेचेर नगद पचास हजार लिएर आफ्नो बुबा-आमा त्यागी घरबाट निस्किएका जितबहादुर एका-एक प्रहरिको घेराबिच नाडिमा हत्कडी लगाइएको अबस्थामा बुधबार एक कार्यक्रमका बिच सिन्धुलीमाढीमा सार्बजनिक भए ।

जुङ्गाको रेखी नबस्दै घर, परिवार, बुबा, आमा सबथोक त्यागेका जितबहादुरलाई यसरी जुङ्गा र कपाल सेतै भइसकेपछि हत्कडी लगाइएको अबस्थामा देख्नु पर्ला भनेर समुदायले कल्पनासम्म गरेका थिएनन ।

नाडी, अनुहार र शरीर थरर कापिरहेका जितबहादुरको जिबनको कहाँनि अत्यन्त भयानक थियो । लागु औषध सेवनको कुलतमा फसिसकेपछी घर त्यागेका जितबहादुरलाई आफ्नो बुबा दमको रोगले बितेको समेत प्रहरीले पक्राउ गरेपछि मात्रै थाहा भयो ।

लागू औषधको सेवन गरि आफ्नै आमालाई हिर्काएर मारि प्रहरीको फन्दामा परेर जेल जीवन ब्यतित गरिरहेका उनै जितबहादुरलाई प्रहरिले एक कार्यक्रमका बिच सार्बजनिक गरेको हो ।

जितबहादुरले आफ्नो जिबनमा गरेका अपराधको श्रृङखला अक्षम्य छन । तर, उनको त्यो दर्दनाक आत्मकथाले दर्शकको मन रुवाएन मात्रै सबै दर्शक अत्यन्त भावुक बने । जितबहादुरले गरेको कु-कर्म भने यथार्थ थिएन । तर, समाजमा घट्ने गरेका घटनाहरुको प्रतिनिधि पात्र थिए जितबहादुर ।

बुधवार सिन्धुलीमाढीमा लागूऔषध प्रयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा यो घटना र जितबहादुरको आत्मकथाले खुबै दर्शकलाई भावुक बनायो । काल्पनिक कथामा निर्माण गरिएको जितबहादुरको आत्मकथालाई कलाघर सिन्धुलीका अध्यक्ष सुमन आइडुले प्रस्तुत गरेका थिए ।

‘प्रमाण स्पष्ट छ, रोकथाममा लगानी गर’ भन्ने नारा सहित लागू औषध प्रयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस साताब्यापि रुपमा सिन्धुलीमाढीमा मनाइएको हो । यस अभियानको उद्देश्य लागूऔषध प्रयोग गर्ने व्यक्तिहरूसँग सम्मानजनक व्यवहार गर्नुपर्ने विषयको महत्वबारे जनचेतना बढाउनु पनि हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा ‘म ड्रग्सको हिम्मत गर्दिनँ’ भन्ने प्रतिवद्धतामा हस्ताक्षर सहित लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको ३७ औं अन्तर्राष्ट्रिय दिवस सिन्धुलीमाढीमा आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

प्रहरि प्रमुख काफ्लेको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वक्ताहरुले जिल्लामा लागु औषध प्रयोगकर्ता र ओसारपसार बढेकाले पुनर्स्थापना केन्द्र स्थापनाको आवश्यकता रहेको औल्याएका छन ।

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले लागु औषध नियन्त्रण गर्नु सबैको जिम्मेवारी रहेको बताउदै हरेक स्थानीय तहले नीति तथा कार्यक्रम बनाउँदा लागु औषध नियन्त्रणको विषयलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

समापन कार्यक्रममा बोल्दै प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले सबै जिम्मेवार बन्न सकेमा लागु औषध नियन्त्रण गर्न सकिने बताए । उनले जिल्लामा लागु औषध प्रयोगकर्तालाई उपचार तथा मनोसामाजिक परामर्शका साथै सामाजिक रुपमा पुनर्स्थापित गर्नका लागि पुनर्स्थापना केन्द्रको आवश्यकता रहेको बताए ।

लागू औषध प्रयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सिन्धुलीमाढिमा विभिन्न सांगितिक तथा सांस्कृतिक कार्यक्रम सहित मनाईएको हो ।

प्रकाशित मिति : १३ असार २०८१, बुधबार १२:०९

प्रतिक्रिया दिनुहोस्