नगरपालिकाको सबै बस्तिमा यसै साल विद्युत पुग्छ – मेयर खत्री

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाका ९० प्रतिशत भूभागमा विद्युतीकरण भएको छ । शनिबार कमलामाई नगरपालिका-८ मा विद्युत पुर्‍याएसँगै नगरक्षेत्रको ९० प्रतिशत भुभागमा विद्युतीकरणको काम सकिएको नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिए । 

वडा नं. ८ को तीनतले, पाथिपरान, माई खोला, सिद्धडाँडा, ज्यामिरे, बाघछेडा, ठूल्डाँडा हुँदै लाङ्दिमा विद्युत विस्तार गरिएको छ ।  साढे दुई करोड रुपैयाँ बढी लागतमा विस्तार गरिएको विद्युतबाट वडा नं. ८ का दुई सयभन्दा बढी घर परिवार लाभान्वित भएका छन् । 

माई खोला क्षेत्रमा ११ किलोमिटर मूख्य लाइन, १५ किलोमिटर शाखा लाइन, दुईवटा ट्रान्सफर्मर तथा पातिपरान क्षेत्रमा १५ किलोमिटर मुख्य लाइन, ३० किलोमिटर शाखा लाइन र १ वटा ट्रान्स्फर्मर जडान गरी वडा नं. ८ को सबै बस्तीमा विद्युतीकरण गरिएको नगरप्रमुख खत्रीले बताए । 

हालसम्म कमलामाई नगरपालिकाको १४ वडा मध्ये वडा नं. १ को केही भाग र वडा नं. ४ को केही भाग बाहेक नगरको सबै भुभागमा विद्युतीकरण भएको नगरप्रमुख खत्रीले जानकारी दिए । 

आर्थिक वर्ष २०७६/०७७ मा विद्युतीकरणका लागि विनियोजन गरिएको ६ करोड रुपैयाँले विद्युत पुग्न बाँकी वडा नं.७, ८ र १० का सबै भुभागमा विद्युत सेवा विस्तार गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

‘मैले चुनावमा नगरवासिको चाहना-उज्यालो नगरपालिका हाम्रो कामना भन्ने अभियान अन्तर्गत आफ्नो पाँचवर्षे कार्यकालमा नगरपालिकाको सबै बस्ती-बस्तीमा विद्युत पुर्‍याउँछु भनेर जनतामाझ घोषणापत्रमार्फत प्रतिबद्धता जनाएको थिएँ ।

यो प्रतिबद्धता म यसै साल पूरा गर्दैछु । अहिलेसम्म नगरको ९० प्रतिशत भुभागमा विद्युत पुगिसकेको छ, अब ५ प्रतिशत काम आगामी मंसिरसम्म पूरा हुन्छ। बाँकी ५ प्रतिशत आगामी असार मसान्तसम्ममा सकिन्छ,’ नगरप्रमुख खत्रीले भने । 

विद्युत पुग्न बाँकी वडा नंं १ र वडा नं. ४ का केही भुभागमा आर्थिक वर्ष २०७६/०७७ मा विद्युतीकरणका लागि विनियोजन गरिएको ६ करोड रुपैयाँबाटै विद्युत विस्तार हुने बताइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार २१:०९

प्रतिक्रिया दिनुहोस्