सिन्धुली प्रहरीले गरायो सडकमै सवारी चालकको स्वास्थ्य परिक्षण

सिन्धुली – राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला  ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको चेकपोष्टमै चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिन्धुली र ट्राफिक प्रहरी कार्यालयले कमलामाइ नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला रेडक्रस सोसाइटी सिन्धुलीको प्राबिधिक सहयोगमा बुधबार चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको हो ।

अधिकांश दुर्घटना चालककै कमजोरीका कारण हुने भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्द राज काफ्लेले ‘अंकपत्र’लाई जानकारी दिए ।

यो कार्यले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख काफ्लेले बताए । चालककै लापरवाही र स्वास्थ्य अवस्थाका कारण दुर्घटना भएको पाइन्छ,’ उनले भने, ‘जिल्लाले थालेको यो अभियानले राजमार्गमा हुने दुर्घटना कम गर्न सकिनेछ ।’

स्वास्थ्य परिक्षणमा चालक तथा सहचालकको उच्च रक्तचाप, आँखाको भिजन परीक्षण जाँच गरिएको छ । मदनभण्डारी राजमार्ग र बिपि राजमार्ग हुँदै देशैभरका सवारीसाधन सङ्घीय राजधानी आवतजावत गर्ने भएकाले अन्य जिल्लालाई पनि सन्देश दिने उद्देश्यले यस कार्य गरिएको प्रहरी प्रमुख काफ्लेको भनाइ छ ।

‘सबै जिल्लाबाट आवतजावत गर्ने सवारीसाधनका चालक सहचालकको सिन्धुली जिल्लाले मात्रै स्वास्थ्य परीक्षण गर्न सम्भव हुँदैन । सबै जिल्लाका लागि सन्देश दिन पनि यो कार्य गरिएको हो’, उनले भने ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार ०५:५३

प्रतिक्रिया दिनुहोस्