नीति निर्माण र कार्यान्वयन तहमा युवा-सहभागिता बढाउनु पर्छ

भनिन्छ, युवा राष्ट्रका गहना, भविष्यका कर्णधार र उन्नतिका नायक हुन् । उत्साहका परिचायक हुन् । राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । राष्ट्रका अमूल्य नीधि हुन् । परिवर्तनका संवाहक र विकासका उत्प्रेरक हुन् ।

कुनै पनि राष्ट्र कति विकसित, सम्पन्न र शक्तिशाली छ भन्ने कुराको मापन गर्ने एक विश्वासिलो र भरपर्दो सूचक त्यस देशका युवाको क्रियाशीलता, लगनशीलता, मेहनत, अनुशासन र उत्पादनशीलतालाई मान्न सकिन्छ तर नेपाली समाजमा युवाशक्तिको सही पहिचान हुन सकेन, युवाको क्षमताको सदुपयोग हुन सकेन । राष्ट्रले युवाका लागि सही कार्यदिशा र नीति तर्जुमा गरी लागु गर्न सकेन भने व्यक्ति, समाज, राष्ट्र अनि विश्वलाई नै दुर्भाग्य हुन सक्छ ।

कुनै पनि देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत क्षेत्रमा युगान्तकारी परिवर्तन गर्ने सवालमा युवाको भूमिका सदैव अग्रणी रहँदै आएको विगतका इतिहासले पुष्टि गर्छ । चाहे त्यो इतिहास विश्वका हुन् वा नेपालका ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष अगस्ट १२ का दिनलाई नेपालले पनि अन्तर्राष्ट्रिय युवा दिवस भनेर विभिन्न कार्यक्रम गरेर औपचारिकता निर्वाह गर्ने गरेको छ । युवाको काँधमा ठुलो जिम्मेवारी छ । रूपान्तरणका सबै आयाम, जस्तो कि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय र शासकीय आयामलाई गतिशील बनाउन युवा वर्गको सार्थक सकृयता जरुरी छ । युवा नै अल्मलियो भने मुलुक सधैँ अल्मलिइरहने छ ।

त्यस्तै युवाको सही उपयोग कसरी गर्ने ? युवालाई निर्माण र विनिर्माणमा कसरी स्वचालित गर्ने ? सिर्जना र सकारात्मकतामा कसरी ल्याउने ? भन्ने चिन्ता र चासो नीति निर्मातामा रहनु पर्दछ । युवाका अपेक्षा र युवा उपयोगबिच सन्तुलन ल्याएर नै युवालाई उनीहरूको भविष्यप्रति आश्वस्त पार्न सक्नु पर्छ ।

समयले युवालाई आह्वान गरिरहेको छ, युवाहरू हो, तिमीहरूको जीवनमा आज रहेको सबैभन्दा मूल्यवान् वस्तु समय हो । जीवनकै यो मूल्यवान् र स्वर्णिम समयको अत्यधिक र प्रभावकारी प्रयोगबाट तिमीहरू आफ्नो व्यक्तिगत जीवनको चित्र मात्र होइन, समाजकै चित्र बदल्न सक्ने छौ । त्यसो भए आफूभित्र अन्तर्निहित यत्रो विराट् र अजेय क्षमता बोकेर युवा ‘जुटपत्ती र लुँडो’ खेलेर समय व्यतीत गर्ने बहानामा निरीह भएर किन बस्ने ?

तसर्थ युवापङ्क्तिले अब सोच्नै पर्छ र केही त गर्नै पर्छ । किनकि युवाको भाग्यको विधाता युवा स्वयम् आफैँ हो । त्यसैले आफ्नो भाग्यको निर्माण आफैँ गर्दै युवाका रचनात्मक नवीन सोचमा आधारित सत्य, न्याय र समानतामूलक समाज निर्माणका लागि युवा आफ्नो ऐतिहासिक दायित्व र भूमिका निर्वाह गर्नबाट किमार्थ चुक्नु हुँदैन ।

आज हाम्रा गाउँबस्ती युवाविहीन भएका छन् । त्यहाँ देखिएका दृश्यले नेपालको भविष्य कता जाँदै छ भन्ने दिशा निर्देश गर्दछ । नेपालको विकासका लागि लागि युवालाई विकास र राजनीतिमा केन्द्रित गर्न आवश्यक छ । सरकार र राजनीतिक दलहरू युवाको प्रतिनिधित्व पर्याप्त गराउनतर्फ सचेत हुनु पर्छ । युवालाई सरकारी र गैरसरकारी क्षेत्रबाट गुणस्तरीय शिक्षा, स्वास्थ्य, मर्यादित रोजगारी, रोजगारीका अवसरहरू, सार्वजनिक जीवन र नीति निर्माणका विभिन्न मञ्चमा सहभागिता एवं अन्य विषयको खाँचो पर्छ ।

आवश्यकताका क्षेत्रमा युवालाई जोखिम कम गर्न तत् क्षेत्रमा तीव्र र व्यवस्थित सेवा प्रवाह जरुरी हुन्छ । न्यून गुणस्तरीय वैदेशिक रोजगारीमा निर्भरता कम गर्न र त्यताबाट फर्किएकालाई समायोजन गर्न सरकारका कार्यक्रममा सुधार गरी संस्थागत र सामाजिक अवरोधलाई हटाउँदै देशभित्र रोजगारीका अवसर सिर्जना गर्नु पर्छ ।

राजनीतिक नेतृत्वले युवालाई आफूमाथि कहिल्यै प्रश्न नगर्ने मानव परिचालित रोबटमा परिणत गर्न खोजिरहेका छन् । यो समाजका लागि दुःखद कुरा हो । त्यसैले युवामा आलोचनात्मक चेतको विकास हुन अत्यन्त जरुरी छ । किनकि आलोचनात्मक चेतले मात्र सही र गलत छुट्याइ समाजमा घट्ने विभिन्न घटना–परिघटनाबारे तथ्यमा रहेर समर्थन वा विरोध गर्न सिकाउँछ तर यतातिर ध्यान नदिनेहरू समाजमा घट्ने त्यस्ता अनेक घटनाको वा कुनै पनि कुराको कि अन्धविरोध गर्छन्, कि त अन्धसमर्थन वा विश्वास गर्न पुग्छन् ।

यो प्रवृत्तिले समस्याको जडसम्म कहिल्यै पु¥याउँदैन । नेतृत्वमा जेजति युवा देखिएका छन्, सबैभन्दा बढी यही प्रवृत्तिका सिकार बनिरहेका छन् । यसले सत्यको पैरवीभन्दा चाकडी गर्न सिकाउँछ । आफ्नो भविष्य सुरक्षित गर्न चाहने युवा आज नेताहरूको स्वार्थपूर्तिका लागि प्रयोग हुन पुगेका छन् । निश्चय नै कुनै पनि कुराको सीमा हुन्छ तर अहिले हाम्रो समाजमा भ्रष्टाचार, अनियमितता, घुसघोरी, दलाली, कालोबजारी, लुट, विभेदले सीमा नाघिरहेको छ । यसको समयमै निराकरण गर्नु पर्छ । अनि मात्र समतामूलक समाज निर्माण गर्न सकिन्छ ।

नेपालको समृद्धिका लागि युवालाई विकास र राजनीतिमा केन्द्रित गर्न आवश्यक छ । सरकार र राजनीतिक दलहरू युवाको प्रतिनिधित्व गराउनतर्फ सचेत हुनु पर्छ । युवालाई सरकारी र गैरसरकारी क्षेत्रबाट गुणस्तरीय शिक्षा, मर्यादित रोजगारी, र नीति निर्माणका विभिन्न मञ्चमा सहभागिता गराउनु पर्छ । रोग, गरिबी र अन्य आवश्यकताका क्षेत्रमा युवालाई जोखिम कम गर्न तत् क्षेत्रमा तीव्र र व्यवस्थित सेवा प्रवाह जरुरी हुनु पर्छ ।

न्यून गुणस्तरीय वैदेशिक रोजगारीमा निर्भरता कम गर्न र त्यताबाट फर्किएकालाई समायोजन गर्न सरकारका कार्यक्रममा सुधार गरी संस्थागत र सामाजिक अवरोधलाई हटाउँदै देशभित्र रोजगारीका अवसर सिर्जना गर्नु पर्छ । नीति निर्माण र कार्यान्वयनमा युवा जनसहभागिता बढाउनु पर्छ ।

सबै नीतिमध्येको मूलनीति मानिएको राजनीतिलाई सही दिशानिर्देश गर्न युवा दूरदृष्टि, सक्षम नेतृत्व, कुशल व्यवस्थापकको आवश्यकता पर्छ । मुलुकको विकास र समृद्धिका लागि युवा जनसङ्ख्या महत्वपूर्ण मानिन्छ । युवालाई विकासमा उपयोग गर्ने देशले आर्थिक र सामाजिक विकासमा फड्को मार्छ ।

हाम्रो देशको शासन व्यवस्थालाई सबल र प्रभावकारी बनाउन राजनीतिमा युवाको आकर्षण र सहभागिता बढाउनु आवश्यक छ । राजनीतिक दलहरूले पनि युवालाई परिचालन गर्ने मात्र होइन, उनीहरूको योग्यता, दक्षता र क्षमता अनुसारको उचित अवसर र जिम्मेवारीसमेत दिनु पर्छ । राज्यको नीतिनिर्माण तथा नेतृत्वको जिम्मेवारी युवालाई दिनु पर्छ । २५ औं अन्तर्राष्ट्रिय युवा दिवस -२०२४ को हार्दिक शुभकामना !

लेखक: नेपाल बिद्यार्थी संघ सिन्धुलीका बर्तमान सभापती हुन ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार ०६:०५

प्रतिक्रिया दिनुहोस्