सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिका–१ कोप्चे सिम्ले गाउँमा जमिन धाजा परेपछी सिङ्गो हायुबस्ती जोखिममा परेको छ । जमिन धाजा परेपछि उक्त समुदायको १५ हायु परिवार जोखिममा परेका हुन ।
निरन्तर आएको अविरल वर्षाका कारण उक्त समुदायका पन्ध्र हायु परिवारको जनजिबन प्रभाबित बनेको कमलामाइ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सागर कुमार ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार घरको जमिन भाग धाजा परेपछी उक्त परिवारहरु जोखिममा परेका छन् । उक्त जोखिममा रहेका घरपरिवारको कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेल, नेपाली सेना, प्रहरी र वडा प्रतिनिधी सहितको टोलिले मंगलबार स्थलगत निरीक्षण गरेको छ ।
निरीक्षणपछि नगरपालिकाका नगरप्रमुख पोखरेलले जोखिममा रहेका घरपरिवारलाई तत्कालै सुरक्षित स्थानमा राख्ने कुरामा नगरपालिकाले कुनै कसर बाकी नराख्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नगरपलिकाको तर्फबाट उहाँहरुलाई सुरक्षित स्थानमा राख्ने कुरामा हामी कुनै कसर बाकी राख्दैनौ र जोखिममा रहेको बस्तीलाई स्थान्तरण गर्ने सम्बन्धमा तत्काल जिल्ला दैबी प्रकोप ब्यबस्थापनको मिटिङ राखेर हामी उचित निर्णय गरि अघि बढ्छौ ।’
जमिन धाजा परेको स्थानमा रहेका घर परिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत सागर कुमार ढकालले बताउनुभयो ।
नगरपालिकाले तत्काल रोकथामको प्रयास अघि बढाएको जनाउँदै दीर्घकालीन रोकथामका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले प्रदेश र सङ्घ सरकारले यसको लागी सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यहाँ बस्दै आएका १५ हायु परिवार विस्थापित भएका छन् ।