मदन-भण्डारी सडक भासिएपछी स्वाराका पाँच घरपरिवार जोखिममा

सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिका -१ स्वारामा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती नै जोखिममा परेको छ ।

अबिरल बर्षाको कारण स्वारा स्थित मदन भण्डारी लोकमार्ग छेउको सडक भासिँदा सडकभन्दा तल रहेको पाँच घर समुदाय जोखिममा परेको हो । गत १४ गते देखीको अविरल वर्षाका कारण अन्दाजी २ फिट सडक भासिंदा र अन्दाजी २० मि. लम्बाई सडक चिरा परेको (फाटेको) कारण सवारी साधनहरु एक तर्फी मात्र आवत जावत भईरहेको छ ।

साथै उक्त चिरा परेको सडक मुनी रहेको ५ घरधुरी परिवार समेत जोखिममा रहेको कमलामाइ नगरपालिका वडा नम्बर -१ का वडाध्यक्ष नरेश गोलेले जानकारी दिए । सडक भासिएपछि सडकमुनीका पाँच घरको दलान मझेरी लगाएतको जमिनको भाग चर्किएको र धाजा फाटिएको अध्यक्ष गोलेले जानकारी दिए ।

जमिन भासिएपछि स्थानीयले त्रीपाल ओढाएर भासिएको जमिनबाट तत्काल पानी बग्न रोके पनि जमिनको भासिनेक्रम नरोकिएको वडाध्यक्ष गोलेको भनाइ छ । उनका अनुसार उक्त वडाको कोप्चे सिम्ले गाउँको १५ परिवार हायुबस्ती र स्वारास्थित पाँच परिवार समुदाय अहिले जमिनमा धाजा फाटेर जोखिममा छन ।

सडक भासिएको खबर प्राप्त भएपछी कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलको नेतृत्वमा आइतबार वडाध्यक्ष, ईलाका प्रहरी कार्यालय कपिलाकोट बाट प्र.नि. धर्मराज खत्री र प्रहरी चौकी डांडिगुरांसेबाट प्र.स.नि. लगायतको टोलीले स्थलगत निरिक्षण गरेको छ ।

जोखिममा रहेको परिवारलाई तत्कालका लागी त्रीपाल बितरण गर्दै नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले उक्त सडक र घरहरूको अनुगमन गरी सम्बन्धीत निकाय‌संग समन्वय गरी चिरा परेको सडक यथाशिघ्र मर्मत गर्ने र जोखिममा रहेका घरहरुलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नका लागी पहल भइरहेको जानकारी दिए ।

मदन भण्डारी लोकमार्ग छेउको सडक भासिँदा क.न.पा. -१ स्वरा बस्ने भुवनध्वज खडकाको (एक) तले पक्कि घर, सोही स्थानका दुधराज खड्काको ढुङा माटोले बनेको २ (दुई) तले कच्ची घर, हेम बहादुर खड्काको ढुङा माटोले बनेको २ (दुई) तले कच्ची घर जोखिममा परेको छ ।

त्यस्तै सोही स्थानका कृष्ण प्रसाद कोईरालाको ढुङा माटोले बनेको २ (दुई) तले कच्ची घर र केदार प्रसाद काफ्लेको ढुङा माटोले बनेको २ (दुई) तले कच्ची घरमा क्षती पुगेको छ ।

वडाध्यक्ष गोलेले उक्त जोखिमलाई तत्काल रोकथाम नगर्ने हो भने ठूलो विपत्ति आउन सक्ने बताए । उनका अनुसार बस्ती माथिकोे सडक छेउको जमिन भासिएपछि सडकमा सवारी आवागमनमा समस्या परेको र जमिन भासिएको स्थान नजिकका घरपरिवार लाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ ।

नगरपालिकाले तत्काल रोकथामको प्रयास गरिरहेको जनाउँदै दीर्घकालीन रोकथामका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले प्रदेश र सङ्घ सरकारले जोखिम नियन्त्रणमा सहयोग गर्नुपर्नेमा नगरप्रमुख पोखरेलले जोड दिए ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार ०२:५५

प्रतिक्रिया दिनुहोस्