सवारि साधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टास गर्ने कार्य सिन्धुलीमा शुरु

सिन्धुली – चाढबाड नजिकिए संगै हुने सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस गर्ने कार्य बिहिबारबाट शुरु गरेको छ ।

नजिकिदै गरेको महान पर्बहरुमा यहाँका बिपि राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारि राजमार्ग लगायत अन्य शाखा सडकहरुमा यातायातको चाप बढ्ने र सवारी दुर्घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी साधनमा ‘स्टिकर’ टाँस गर्ने कार्य शुरु गरिएको हो ।

संविधान दिवसको अबसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरी कार्यालय सिन्धुलीको सहकार्यमा सवारी दुर्घटना न्युनिकरणका लागि प्रहरीले सवारी चालकहरुलाई सामुहिक प्रतिवद्धता गराउन समेत सुरु गरेको छ ।

साना सवारी साधन, नीजि सवारी साधन, ठूला सवारी तथा मोटरसाईकल, स्कुटरलाई सवारी साधन चलाउँदा अपनाउनु पर्ने सतर्कता सहितको उक्त प्रतिवद्धतामा हस्ताक्षर गराईने कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सार्वजनिक सवारी साधनमा स्टिकर टाँसेर कार्यक्रमको उद्घाटन गरिएको हो ।

ट्राफिक नियमको पालना गरौं, लेन अनुशासनको पालना गरौं, जथाभावी ओभरटेक तथा पार्किङ नगरौं, तिव्र गतिमा सवारी नचलाऔं, पैदलयात्रुलाई सधै प्राथमिकता दिने गरौं भन्ने जस्ता सन्देशमुलक स्टिकर सवारी साधनमा टाँस्ने कार्य शुरु गरिएको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले सडक सुरक्षा र यात्रु सुरक्षाको विषय ३६५ दिनकै विषय भएको जनाउदै चाडपर्वका अवसरमा सडक सुरक्षा र यात्रु सुरक्षाको विषय झनै संवेदनशिल रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शर्माले सडक र यात्रु सुरक्षामा चालकमात्र संवेदनशिल भएर नहुने त्यसका लागी सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

चाडवाडका बेला यात्रुहरुलाई समस्या हुन नदिन जिल्लाको कमलामाई नगरपालिकाको वसपार्क, भिमान, दुधौली, डकाहा, खुर्कोट, दुम्जा लगाएतका ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिने समेत प्रहरीले जनाएको छ ।

स्टिकर टास र प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने कार्य कमलामाई नगरपालिका वडा नं. ६ शिवनगर स्थित चेकपोष्टमा नियमित रुपमा सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख इश्वर बहादुर थापाले जानकारि दिनुभयो ।  

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार ११:४२

प्रतिक्रिया दिनुहोस्