कुसेश्वर मन्दिरमा रहेका २५ बटुक र तीन पुजारी रोशि बाडीमा फसे

सिन्धुली – राेशी खाेलाको भँगालाे बस्ती पसेपछि सिन्धुलीको सुनकाेशी गाउँपालिका– १ स्थित कुसेश्वर मन्दिरमा रहेका २५ जना बटुक र ३ जना पुजारी फसेका छन् ।

मन्दिरलाई चारैतिरबाट पानीले घेरेको छ । वडाध्यक्ष रामकुमार श्रेष्ठले मन्दिरमा २५/२६ जना बटुक र तीन जना पुजारी रहेका र उनीहरूलाई उद्धारको प्रयास भइरहेको जानकारी दिए । 

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले उद्धारका लागि सुरक्षाकर्मीको टाेली पुगिसकेको जानकारी दिए । यद्यपि ठूलै खतराको अवस्था भने नरहेको जानकारी आफूले पाएको उनले बताए । 

‘मेराे भर्खरै त्यहाँका बालक तथा पुजारीसँग कुराकानी भयाे । उहाँहरूले वरपर पानीले घेरे पनि हामीहरू सुरक्षित छाैँ भन्नुभएको छ,’ प्रजिअ शर्माले भने, ‘उहाँहरूले खाना पनि खाइसक्नुभयाे रे ।’ सम्भावित जाेखिमको अवस्थालाई दृष्टिगत गरेर उद्धार सामग्रीसहित उद्धारकर्मीको टाेली खटिइसकेको र गृह मन्त्रालयमा समेत खबर गरिसकिएको उनले जानकारी दिए । 

वडाध्यक्ष श्रेष्ठले मन्दिरवरपरका केही घरहरूमा क्षति पुगेको जानकारी दिए । ‘केही छाप्राहरू बगेको बुझिएको छ । एउटा पक्की घरमा क्षति पुगेको छ,’ उनले भने, ‘मन्दिर खतरामा पर्दा त्यहाँ रहेका बटुक र पुजारीलाई समस्या भयाे ।’

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १५:०५

प्रतिक्रिया दिनुहोस्