सिन्धुली – वीपी राजमार्ग अन्तर्गत नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएर आइतबार दिउँसो साढे १ बजेबाट राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताउनुभयो ।
उहाँका अनुसार खुर्कोट-मुलकोट सडकखण्ड गएराती देखि नै पहिरो पन्छाएर सञ्चालन ल्याइएको थियो । आइतबार नेपालथोक-मुलकोट सडक खण्ड पनि खुलाइएको उहाँले जानकारी दिनुभयो ।
अहिले अल्पकालिन रुपमा सडक सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक विभागको सहयोगमा स्थानिय तहको समन्वयमा स्थानियको डोजरहरुको प्रयोग गरेर सडक सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।
सडक सञ्चालनमा आएसँगै नेपालथोकबाट सिन्धुलीतर्फ आएर गाडीहरु आ–आफ्नो गन्तव्यमा जाने आउने क्रम सुरु भएको छ । वर्षा रोकिए पनि आइतबार बिहान मात्रै सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा सडक भाँसिएको छ । उक्त ठाउँमा सानो डाइभर्स बनाएर सडक सञ्चालन गरिएको उहाँले बताउनुभयो ।