सिन्धुली – हाल विद्यमान सार्वजनिक सडक ऐनको प्रावधान अनुसार सडकहरुलाई मूलत: राजमार्ग, सहायक राजमार्ग, जिल्ला मार्ग र शहरी सडक गरी चार भागमा बाँडिएको छ ।
कानुनले ती सडकहरुको राइट अफ वे अर्थात बीच भागबाट दायाँ र बायाँ कति दुरी खाली रहनुपर्ने भनी तोक्ने अधिकार सरकारलाई दिएको छ ।
हुन त सबै राजमार्गको एकै किसिमको सीमा तोकिएको छैन, तर पनि समग्रमा राजमार्गलाई २५ मीटर, सहायक राजमार्गलाई १५ मीटर तथा अन्य मार्गलाई १० मीटर दायाँ बायाँ सीमा कायम गरिएको छ । त्यसबाहेक हरेक सडक वरपर ६ मीटरको पक्की संरचना निर्माण गर्न नपाइने गरी निषेधित क्षेत्र समेत तोकिएको छ ।
तर त्यो तोकिएको सिमा कायम पुर्ण रुपमा कार्यान्वयन हुन भने सकेको छैन । सूर्यविनायक –धुलिखेल –सिन्धुली – बर्दिबास सडक आयोजनाले बिपी राजमार्गको सडकखण्डमा मापदण्ड विपरितका संरचना भत्काउने अभियान शुरु गरेको अहिले करिब ६ बर्ष भयो ।
सरकारी मुआब्जा पाइसकेका जग्गाधनीले समेत सडक अतिक्रमणका साथै दायाँबायाँ अवैध संरचना बनाएको भन्दै आयोजनाले करिब ६ बर्ष अघिदेखि त्यस्ता संरचना भत्काउने अभियान थालेको हो ।
तर अहिले पनि हेर्ने हो भने सडक अतिक्रमणका साथै दायाँबायाँ अवैध संरचना निर्माणको स्थिती भने उस्तै छ । सरकार तथा सडक बिभागले यस्ता निर्माण भएका अबैध संरचना हटाउन बेवास्ता गरिरहेका बेला सिन्धुलीको गोलन्जोर गाउँपालिका -७ खुर्कोट स्थित सनराइज होटलका संचालक अमुल कार्कीले भने आफ्नो होटल संगै जोडिएर बनेका अबैध संरचना हटाउने अभियान शुरु गर्नुभएको छ ।
आफ्नो होटल संग जोडिएका अबैध संरचना हटाउन शुरु गरेको जानकारी दिदै कार्कीले अन्य ठाउँमा पनि सडकको मापदण्ड बिपरित जोडिएका अबैध संरचना हटाउन कठोर भएर सडक बिभाग तथा नेपाल सरकार लागी पर्नुपर्ने बताउनुभयो ।
‘अधिकांशले त्यस्ता संरचना स्वःस्फूर्त रूपमा हटाइनुपर्ने उहाँले बताउनुभयो । राजमार्गको सौन्दर्य बिगारेको र दुर्घटना बढाउने भएकाले मापदण्डविपरीतका संरचनालाई हटाउनुपर्ने उहाँको भनाइ छ ।
“सडक सीमाभित्रै घर बनाउने, वस्ती बसाउने जस्ता कार्य भइरहेका छन् । ती खाली नगराई हुँदैन । २५ मीटरको सीमा हाल कागजमा मात्र रहेको हुँदा त्यसलाई व्यवहारमा उतार्न वहाँले सडक बिभागसंग अपिल गर्नुभयो ।