सिन्धुलीका पुर्ख्यौली बालिका आफन्तको शरणलिदै आमाको कोरामा

सिन्धुली – विगत ६ वर्षदेखि कलेजो रोगबाट पीडित धर्मशिला फुँयालको गत माघ ४ गते निधन भएपछि अहिले उनको परिवार विचलित भएको छ । रानीवास सिन्धुलीबाट पुर्ख्यौली बसोबास छाडेर भारत सिक्किमको नाम्चेमा जीवनयापन गर्दै आएका धर्मशिलाका श्रीमान् राम फुँयाल र उनका दुई छोरी आमाको मृत्युपछि शरण लिन महोत्तरीको बर्दिवास आइपुगेका हुन् ।

धर्मशिलालाई बचाउने प्रत्यत्न गर्दागर्दै जायजेथा सकिएको भन्दै बुबा रामसँग बर्दिवास आफन्तकहाँ आइपुगेका दुई किशोरी शरण लिएकै घरमा आमाको काजकिरियामा बसेका हुन् । हिन्दु धर्मशास्त्र अनुसार आमाको मृत्युपछि १० वर्षकी बालिका आरध्या फुँयाल र १६ वर्षकी अमिस्का १३ दिने काजकिरियामा बसेका हुन् ।

‘आमाको इच्छा थियो उहाँको काजकिरिया हामीले नै गरूम् भन्ने,’ अमिस्काले भनिन्, ‘तर हामीलाई काममा नबस्न धेरैले अनुरोध गरेका थिए, हामी आफ्नै इच्छाले किरियामा बसेका हौं ।’

छोराहरू जसरी नै कपाल काट्ने आफ्नो इच्छा हुँदाहुँदै पनि सबैले गाली गरेपछि काट्न नपाएको अमिस्काले बताइन् । ‘छोरीले काजकिरिया गर्ने भनेपछि सबैले अनौठो ठान्नुभयो,’ उनले भनिन्, ‘झन पुरोहितले त छोरीहरू किरियामा बस्ने भनेपछि कर्मकाण्डमै साथ नदिएको नमिठो अनुभव पनि पाइयो ।’

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार १२:०६

प्रतिक्रिया दिनुहोस्