१४ माघ, सिन्धुली । सरकारले पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप नि:शुल्क दिने भएको छ । देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस विरुद्धको खोप दिन लागिएको हो ।
बालबालिकालाई दिइने (एचपीभी) विरुद्धको खोपबारे सोमबार कमलामाइ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्थानिय तह स्तरिय खोप समन्वय समिती, जनप्रतिनिधी एबम सरोकारवालाहरुसंग अभिमुखिकरण तथा बहस पैरबी सम्पन्न भएको छ ।

कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता तथा उपप्रमुख मन्जु देबकोटाको बिशेष उपस्थितीमा अभिमुखिकरण सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल सरकारले यहि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरी लक्षित गर्दै एचपिभी विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी गराइएको छ ।
यो खोप सरकारले अगामी आर्थिक वर्षदेखि राष्ट्रिय खोप कार्यक्रम मार्फत् निःशुल्क प्रदान गर्ने जानकारी गराउदै कमलामाइ नगरपालिका स्वास्थ्य शाखा प्रमुख केम थापाले यो खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त हुनुका साथै नेपालको औषधी व्यवस्था विभागले समेत स्वीकृत भएकाले खोप सुरक्षित र प्रभावकारी रहेको जानकारी दिनुभयो ।

एचपिभी खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, रिँगाटा लाग्ने, मांसपेशी दुख्ने, थकाई लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने वान्ता हुने जस्ता प्रतिकुल असर देखिएपछि यस प्रकारका असर आफै ठिक हुँदै जाने हुँदा किशोरीलाई नआत्तिन समेत थापाको अनुरोध छ ।
अभिमुखिकरण कार्यक्रममा कमलामाइ नगरपालिकाका मेडिकल अधिकृत डा. सुजन बिक्रम ढकालले अहिले एचपिभी खोप १४४ देशको राष्ट्रिय खोप तालिकामा समावेश गरेर किशोरीलाई दिँदै आएको जानकारी दिनुभयो । यसको प्रभावकारिता शतप्रतिशतसम्म रहेको विभिन्न अध्ययनले देखाइसकेकोले ढुक्कसँग खोप लगाउन उहाँको सुझाव छ ।
एचपिभी एक प्रकारको भाइरस हो । एचपिभीको दुई सय भन्दा बढी किसिमका प्रजाति हुन्छन् र यसमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । डा. ढकालका अनुसार यसमध्ये पनि १६ र १८ प्रजाति प्रमुख कारक हुने गरेको छ ।

नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ । उहाँले भन्नुभयो, ‘नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको प्रमुख कारण हो । यो रोगबाट नेपालमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने अध्ययनले देखाएको छ ।’
अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले ९५ प्रतिशत पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुने गरेको बताउनुभयो । यो भाइरस मुख्यतया यौन सम्पर्कबाट सर्ने हुनाले ‘ग्रामीण क्षेत्रका महिलाहरु यस रोगबाट बढी प्रभावित रहेको उहाँको भनाइ छ ।

परिवार नियोजनका साधनहरुको कम प्रयोग र नियमित स्वास्थ्य जाँचको अभावले गर्दा दुर्गम क्षेत्रका महिलाहरुमा बढी जोखिम रहेको उहाँले बताउनुभयो ।
भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरक्षित यौन सम्पर्क गर्ने, धेरै धुमपान तथा मद्यपान गर्ने र यौनांगको सरसफाइमा ध्यान नदिनुले यस्तो समस्या आउने भएकोले आफ्नो स्वास्थ्यमा हेलचेक्र्याइ नगर्न समेत नगरप्रमुख पोखरेलको अनुरोध छ ।