हाम्रो मध्यम वर्गीय परिवार हो । मेरो बुबाले रामेछाप गौरीशंकर उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएको हो । त्यो बिद्यालय त्यस क्षेत्रमा नाम चलेको विद्यालय हो । उहाँ २०३२ सालमा नेपाल विद्यार्थी संघको प्रमुख नेतामध्ये एक हुनुहुन्थ्यो । उहाँमा सानै बेलादेखि प्रजातन्त्र प्रति गहिरो निष्ठा थियो ।
त्यस समय बुबाले अध्ययन गर्ने विद्यालयको प्रध्यानाध्यापक चाहिं कम्युनिष्ट नेता गोरे बहादुर खपांगी थिए । हाम्रो बुबालाई त्यतिबेला प्रध्यानाध्यापक गोरेबहादुर खपांगीले एसएलसीको नतिजा आइसकेपछि फेला भएको मार्कसिट थमाएर पठाए । किनकि उनले नेविसंघंका नेता कार्यकर्तालाई देखिसहदैन थिए ।
पछि गौरीशंकरले आफ्नो स्मारिका प्रकाशित गर्दा उहाँ पास भएको नतिजा आयो । तर त्यो रिजल्ट कहिले थाहा भयो भने २०५८ सालमा । ३२ सालको घटना ५८ सालमा थाहा भयो । यो घटनाले उहाँलाई अत्यन्त विक्षिप्त बनायो । उहाँ पढाईमा अब्बल हुनुहुन्थ्यो । क्लासको प्रथम व्यक्ति, जसलाई एसएलसीमा फेल भएको रिजल्ट थमाईदिए । त्यसपछि उहाँले आफ्नो पढाईलाइ त्यहि छोडीदिनु भयो ।
त्यतिखेर २०३२ सालमा नेविसंघको अध्यक्ष हुदै गर्दा उहाँहरुले खपाङ्गीको ज्यादतिका विरुद्ध आन्दोलन चाहिं गर्नुभएको रहेछ । त्यसबेला प्रध्यानाध्यापक खपाङ्गीले केहि समय स्कुलबाट ‘रेष्टिकेट’ पनि गरिएछ, तर दवाबका कारण उनले त्यसलाई फिर्ता लिन बाध्य भए । त्यस पछि खपाङ्गीले बुबालाई अर्को के दु:ख दिउ भन्दा एसएलसीको नतिजामा त्यसरी धाधली गरेछन ।
सबैको प्रिण्टेट सर्टिफिकेट छ, तर मेरो बुवालाइ चाहिं हातले लेखेको सर्टिफिकेट बनाएर दिए । यसले उहाँमा पढाई प्रति ‘फ्रस्टेसन’ आयो र त्यस भन्दा माथि उहाँले पढ्नु भएन । त्यसपछि घर गृहस्ती र व्यवहारले पनि छोप्यो, घरको जेठो छोरा पनि । २०३२ सालमा बिहे गर्नु भयो । मेरो आमा चाहिं २०४९ सालको जलस्रोत राज्य मन्त्रि लक्ष्मण घिमिरेको बहिनी हुनुहुन्छ, उर्मिला कोइराला ।
पञ्चायत कालमा पनि उहाँ भूमिगत भएर प्रजातन्त्रका लागि भूमिका खेल्नु भयो । प्रथम पटक गिरिजा प्रसाद कोइराला सिन्धुली भ्रमणमा जादा जिल्ला कार्य समिति बन्न नसक्दा, पहिलो पटक जिल्ला कार्यसमिति बनाउन आह्वान गर्दा सबैभन्दा पहिले म सदस्य बन्छु भनेर आट गर्ने मेरो बुवा हुनुहुन्थ्यो ।
उहाँमा उच्च प्रजातान्त्रिक चेत थियो, प्रजातन्त्रका लागि संघर्ष गरेकै व्यक्ति हो । त्यति बेला गिरिजा प्रसाद कोईराला र शुशिल कोइरालाले निक्कै प्रशंसा समेत गर्नुभयो ।
२०६० सालको समय देशमा चरम द्वन्दको समय थियो । त्यस समय कांग्रेसका गाउँस्तरका नेताहरु पनि गाउँमा बस्न डराउथे । त्यसमाथि सिन्धुली जिल्ला अलि आक्रान्त भएको ठाउँ नै हो । साथै प्रशासनको ठाउँभन्दा अलि बाहिर हाम्रो घर भएको कारण त्यस क्षेत्रमा गाउँ स्तरका नेता, कार्यकर्ताहरु पनि बस्न डराउथे ।
तर मेरो बुबा त्यस समय जिल्ला महासमिती सदस्य हुनुहुन्थ्यो । २०४८ सालको निर्वाचनमा पनि टिकटका लागि प्रवल दावेदार हुनुहुन्थ्यो । त्यसबेला माओबादीकै केहि मान्छेहरु फरक विचार भएपनि केहि सिक्न पाइञ्छ भनेर हाम्रो बुबाकहाँ कुरा गर्न आउथे ।

• स्व. बशिष्ट कोईराला
एउटा बौद्धिक व्यक्तिका रुपमा उहाँलाई चित्रण गर्थे । त्यसबेला माओबादीको नीति चाहिं कोहि पनि कांग्रेस एमालेका नेताहरु गाउँमा नबसुन भन्ने थियो । त्यसैले उहाँ एक जना व्यक्तिलाई सकाय गर्न पायौ भने एकछत्र राज हुन्छ भन्ने उदेश्य पनि रहेछ ।
त्यसबेला एकजना माओबादीलाई सेनाद्वारा गोली हानी हत्या गरिरहेको थियो । जो व्यक्तिलाई प्रहरीले पहिले घरैबाट पक्राउ गरेर चार महिना हिरासतमा राख्दा मेरै बुबाले आफै जमानी बसेर मुक्त गराउनु भएको थियो ।
पछि उनी पुनः माओवादीमा लागेर भूमिगत भएका रहेछन । दशैंमा घर आएका बेला सेनाले अलि पर रामेछाप तिर लगेर मारेको थियो । माओवादीलाई के निउँ पाउँ भैरहेको थियो, यहि घटनाको सुराकी गरेको आरोप लगाईदिए ।
जबकि पहिले त्यहि व्यक्तिलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राख्दा मेरै बुबाले छुटाउनु भएको थियो, त्यो गुण पनि बिर्सिए । पारिवारिक रुपले पनि ति मरिएका व्यक्ती हाम्रो परिवारसँग अत्यन्त नजीक थिए । हाम्रो बुबाले सुराकी गर्ने भन्ने छदैं थिएन । मेरो बुबालाई माओबादिहरुले घरबाट लैजादा ३ जना व्यक्ति आएका थिए । त्यसबेला म पनि घरमै थिए ।
जसले हाम्रो बुबालाई घरबाट लिएर गएका थिए, उनीहरु हाम्रो घरमा आउनेजाने, खानेबस्ने गर्थे । हाम्रो घरमा चाहे माओबादी आवस चाहे कांग्रेस कसैलाई रोकावट थिएन । हाम्रो घरमा आउजाउ हुन्थ्यो । ति मध्ये अहिले एकजना गाउँपालिका वडाध्यक्ष भएका छन् । एकजना व्यक्ति एमालेमा प्रवेश गरेका छन भने अर्को एक जना चाहिं सेनाको कारबाहीमा मारिएका छन् ।
दाईसँग केहि गोप्य गफ गर्नु छ भनेर गोठ पछि लिएर गए ।पहिले पनि आइरहने केटाहरु के त्यस्तो गोप्य होला र भनेर जानुभयो । पाँच/दश मिनेटसम्म नआइसकेपछि हामीले शंका गर्यौं, यिनीहरुले कतै लिएर गएकी भनेर हेर्यौं । त्यतिबेला हरेक दिन रेडियोमा समाचारहरु सुन्दा अपहरण गरेको, हत्या गरेको घटनाहरू घटिरहन्थे । वास्तवमा यिनीहरू राजनीतिक प्राणी त थिएनन ।
हामी त्यहाँ १०/१२ जना थियौ । म त्यतिबेला १७ बर्षको थिए । बुबाको उमेर ४६ वर्षको थियो । हाम्रो परिवारमा २ दाजुभाई र एक दिदि हुनुहुन्छ । जेठो दाजु, दिदि र म । घटना हुदा दाजु ब्याचलर लेवलमा पढनुहुन्थ्यो, म र दिदि इन्टर लेवलमा पढिरहेका थियौं ।
उनीहरुले सिधा बाटोबाट नहिडाएर ‘कु’बाटो लगेछन, पछि हामीले थाहा पायौं यो कुरा । मान्छे हिडिरहने बाटोबाट लागेको भए हामीले भेट्थ्यौ । सबैले खोजी गरेका थियौं । नभेटेपछि सबै गाउँलेलाई खबर गर्यौं । ५०/६० जना जम्मा भएर खोज्यौ ।
तर उनीहरुले अत्यन्तै टाढा पुर्याइसकेका थिए । उनीहरुले त्यस दिन राति एउटा घरमा लगेर राखेका रहेछन । उनीहरुले २६ गते हाम्रो घरबाट अपहरण गरी लगेर २७ गते हत्या गरेछन । भोलिपल्ट दिउसोको समयमा निर्घात कुटपिट गरि अन्त्यमा गोलि हानी मारेछन ।
त्यसपछि लासपनी कता फ्यालिदिए वा गाडीदिए हामीले थाहै पाएनौं, पछि कुशको लास बनाएर पशुपतिमा संस्कार गरियो, त्यो पनि ६ बर्स पछि । घरबाट अपहरण गरेर लगेपछि हामीलाई गुमराहमै राखियो । कहिले कता राखेको छ भन्थे, कहिले कुन श्रमशिविरमा राखेको छ भन्थे, कहिले कता हिडाईराखेको छ भन्थे ।
यसरी हामीलाई अलमल्याई रहन्थे, तर उनीहरुले लगेकै भोलिपल्ट हत्या गरिसकेका रहेछन । हामीले धेरै खोजी गर्यौं । उनीहरुले घटना घटेको १२/१३ दिनपछि केहि व्यक्तिको हत्या गरेको भने तर फेरी त्यहि माओबादीका कार्यकर्ताहरुले, हत्या गरेको हैन, तपाईहरुलाई आतंकित पार्न मात्र यसो भनेको हो, उहाँलाई हामीले श्रमसिविरमा राखेका छौ भनेर जानकारी दिए । यसले हामीलाई अलमल गरायो ।
अन्तराष्ट्रिय रेडक्रस संस्थाले धेरै खोजि गर्यो । इन्सेक, मानब अधिकार संघठन सबैले ‘फलो’ गर्दा उनीहरुले जवाफ फर्काएनन । माओवादी शान्ति प्रक्रियामा आयो, उनीहरूको पार्टी कार्यालाय बुद्धनगरमा थियो । माओबादीको त्यो कार्यालयमा चारघण्टा कुरेर हामीले प्रचण्डको स्वकीय सचिवलाई निवेदन दिएका थियौं ।
त्यस पत्रको बोधार्थ सिपी गजुरेललाई पनि दियौं । २०६४ सालको निर्वाचन भन्दा एक/डेढ महिना अगाडी । त्यसको जवाफ उनीहरुले हामीलाई सिधैं नदिएर २०६५ सालमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई जानकारी गराए ।
हाम्रा साथीहरुले २६ गते लगेर २७ गते हत्या गरिसकेको रहेछन भनेर एता माओबादी हेड क्वाटरबाट सिन्धुली जिल्ला प्रशान कार्यालयलाई जानकारी गरेछन । जिप्रका सिन्धुली कार्यालयबाट हामीलाई खबर आयो । यसरी आधिकारीक जानकारी पाएपछि हामीले बुबाको काजकिरिया गर्यौ । तिनै माओबादी भित्रबाट यसो नगरौं भन्दाभन्दै उहाँलाई कुटेर हत्या गरियो भन्ने थाहा पायौं ।
बुबाले मैले सुराकी गरेको होइन, म यो आरोप स्वीकार्न तयार हैन बरु ज्यान दिन तयार छु भन्नु भयो रे । उनीहरुले कुट्दा कुट्दै उहाँ बेहोस हुनुभयो । त्यसपछि गोली ठोकेर मारिदिए, भन्ने कुरा आयो । त्यसरी हत्या गरिसकेपछि बुबाको लास महाभारतको जंगलमा फालिदिए रे ।
केहि समय कसैलाई त्यस जंगलमा जान पनि दिईएन, त्यो लास कुहिएर गयो होला । सिपी गजुरेलले हाम्रो ममीलाई पढाएका थिए । सिपी गजुरेल हेडमास्टर हुदा मेरो ममी नौ कक्षामा पढ्नुहुन्थ्यो, सिन्धुलीको कमला हाइस्कुलमा । बिहेभन्दा पहिला सिपी गजुरेलले हाम्रो आमालाई पढाएको हुनाले उनलाई अलि बढी फलो गर्यौ ।
त्यसकारण पनि पछि बाध्य भएर उनले २०६४ को निर्वाचन ताका हाम्रो साथीहरुले केहि गल्ति गरिसकेका छन्, म माफी माग्छु भनेर सार्बजनिक मञ्चबाट भनेछन्, हाम्रो गाउँभन्दा पल्लो गाउँमा भाषण गर्दा । उनले हत्या भन्ने शब्द प्रयोग नगरी गल्ति भन्ने शब्द प्रयोग गरे ।
म त्यसमा क्षमाप्राथी छु, यो नहुनु पर्थ्यो भयो भनेर भनेका थिए । उनलाई भोट पनि माग्नु थियो । मान्छेहरु अत्यन्त रुष्ट थिए । हाम्रो बुबाले कसैलाई बिझाउनु भएको थिएन । सबैले मानसम्मान गरेको व्यक्ति भएकै कारणले पनि त्यहाँका मानिसले अलि बढि माया गर्थे । अर्को कुरा हाम्रो हजुरबुवा ज्योतिष भनेर कहलिनु भएको थियो ।
बुवालाई घरबाट लिएर गएपछि हामीले कांग्रेस पार्टीलाई जानकारी चाहिं गरायौं । काङ्ग्रेसको सिन्धुली जिल्ला पार्टी कार्यालय र केन्द्रीय पार्टी कार्यालयलाई खबर गर्यौ । केन्द्रिय कार्यालयबाट त्यतिबेला विज्ञप्ति जारी भयो, रेडियो टेलिभिजन सबैतिर समाचार आयो । ५/७ जना कांग्रेसका नेताहरूले हाम्रो साथीलाई माओवादीले अपहरण गरी लग्यो, सकुसल फिर्ता होस् भनेर अनुरोध गरे ।
बुवालाई अपहरण भएपछी हामी प्रहरी कार्यालय जान पनि सकेनौ । गाउँबाट बिस्थापित भएर काठमाडौँ आएर बस्न बाध्य भयौं । छरछिमेक र नातागोताले हाम्रो जग्गाजमिनमा जे जस्तो खेति गरेर उब्जनी पठाउथे, त्यो खाएर बस्यौं । ऋण गरेर गुजारा गर्यौ ।
पछि माधब नेपालको सरकार गठन भएपछी माओबादीद्वारा हत्या गरिएका केहि व्यक्तिहरुलाई शहिद घोषणा गरियो । हाम्रो बुबाको नाम पनि पर्यो । त्यसपछी शान्ती तथा पुन: निर्माण मन्त्रालयबाट विभिन्न चरण गरेर १० लाख रुपैया राज्यबाट सहयोग भयो ।
हामी तिनजना छोरा र छोरीलाइ राम्रैसँग पढाउने लक्ष्य बुबाले राख्नुभएको थियो । हामीले पढ्दै पनि गएका थियौं । दाजुले कमर्श पढ्नु भयो, दिदीले आर्ट्स पढ्नु भयो, मैले साइन्स पढे । बुवाको लक्ष्यचाहिं कान्छो छोरालाई इञ्जिनिएर बनाउछु, जेठो बैंकर बन्छ, उसको सुरु देखिकै रहर बैंकमा जाने थियो । छोरीको मास्टर बन्ने रहर छ म बनाउछु भन्ने थियो ।
तर त्यस घटनाले पढाईमा नराम्रोसँग अबरोध गर्यो । मलाई पढ्न गाह्रो भयो । किनकि हरेक दिन पीडाले भतभत पोलिरहन्थ्यो । हाम्रो घरको मौरीको रानो नै हराएको जस्तो भयो । बुबालाई अपहरण गरेपछि हामी २०६४ सालसम्म घर नै फर्कन सकेनौ । माओवादीका कारण हाम्रो परिवार मात्रै टुटेन सपना पनि टुट्यो ।
(माओवादीद्वारा हत्या गरिएका शहिद वशिष्ठ कोइरालाका छोरा अन्जनी कोइरालासँग गरिएको कुराकानीमा आधारित सम्पादित लेख ।)