स्वबियु ५ चैत्र : सिन्धुलीका तिन क्याम्पसमा मात्रै निर्वाचन

सिन्धुली – नेपाल बिद्यार्थी संघको असहमती पछि भोली अर्थात चैत्र ५ गतेको लागी तय भएको स्ववियुको निर्वाचन सिन्धुलीका चार क्याम्पसमा स्थगन गरिएको छ । केहि दिनदेखी नेपाल बिद्यार्थी संघले जिल्लाका सबै क्याम्पसमा एकैपटक निर्वाचन गराउन सम्बन्धित निर्वाचन समिती तथा जिल्ला प्रशासन कार्यालयमा दबाब दिएको थियो ।

नेबि संघको असहमति र दबाब स्वरुप भोली चैत्र ५ गतेका लागी निर्धारण गरिएको जिल्लाका चार क्याम्पसहरुमा ९ गते सम्मका लागी स्थगन गर्ने र अन्य क्याम्पसहरुमा समेत के कति कुराले निर्वाचन प्रभाबित भएको हो त्यसको एकिन गरि निर्वाचन कार्य अघि बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले जानकारी दिए ।

चैत्र ५ गते हुने भनिएको जिल्लाको सुनकोशी क्याम्पस, भीमज्योति शिक्षा क्याम्पस खुर्कोट, सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटार र गौमति बहुमुखी क्याम्पस माढीबजारको निर्वाचन चैत्र ९ गतेका लागी तय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

प्रशासन कार्यालयमा साँझ विद्यार्थी संगठन तथा राजनीतिक दलका नेताहरूसँग भएको छलफलबाट चैत ९ गतेका लागि निर्वाचनको मिति तय गरिएको हो । यता मरिण बहुमुखी क्याम्पस कपिलाकोट, सरस्वती क्याम्पस डकाहा र कमला बहुमुखी क्याम्पस दुधौलीमा भने भोलि अर्थात चैत ५ गते निर्धारित मिति र समयमै निर्वाचन हुने जनाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार १७:०४

प्रतिक्रिया दिनुहोस्