कांग्रेसले प्रमुख सचेतक घिमिरेलाई संसदमै माफी माग्न लगाउने

सिन्धुली – नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने भन्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेको अभिव्यक्तिलाई लिएर पार्टीभित्र प्रश्न उठेको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सचेतक घिमिरेले नेपालको आर्थिक विकासका लागि यौन व्यवसाय र गाजालाई वैधानिकता दिनुपर्ने धारणा राखेका थिए ।

घिमिरेको उक्त भनाइप्रति सोमबार प्रतिपक्षी माओवादीका सांसदहरूले आपत्ति जनाएका थिए । उक्त विषयमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकमा समेत कुरा उठेको कांग्रेसका एक नेताले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा घिमिरेको अभिव्यक्तिलाई लिएर महामन्त्री गगन थापा, प्रकाशशरण महतलगायतका नेताहरूले आपत्ति जनाएका हुन् ।

नेताहरूको आपत्तिपछि घिमिरेलाई बुढानीलकण्ठ बोलाएर बैठकमै उनको अभिव्यक्तिबारे प्रष्टीकरण सोधिएको थियो । सबैजसो पदाधिकारीहरू घिमिरेको अभिव्यक्तिप्रति रुष्ट बने पनि उपसभापति पूर्णबहादुर खड्काले भने उनलाई बचाउने कोशिस गरेका थिए ।

त्यस्तै, बुढानीलकण्ठ पुगेका कांग्रेस महिला सांसदहरू ईश्वरी न्यौपाने, सीता गुरुङ लगायतले पनि सभापति देउवालाई प्रमुख सचेतकबाट आपत्तिजनक अभिव्यक्ति आएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले घिमिरेका अभिव्यक्तिले कांग्रेस पार्टी लज्जित हुनुपरेको गुनासो सभापति देउवासमक्ष गरेको भेटमा सहभागी एक नेताले जानकारी दिए ।

पदाधिकारी बैठकमै घिमिरेको अभिव्यक्तिलाई लिएर नेताहरूले आपत्ति जनाएपछि बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमै उनलाई माफी माग्न लगाउने तयारी भएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलवार १६:११

प्रतिक्रिया दिनुहोस्