सिन्धुली – होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । अधिबेशनले दामोदर नेपालको अध्यक्षतामा पुनः नयाँ नेतृत्व सर्बसम्मत चयन गरेको हो ।
बागमती प्रदेशको आयोजना र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको सह-आयोजनामा चैत्र ४ र ५ गते अधिवेशन सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह प्रमुख आतिथ्यता तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको बिशेष उपस्थितिमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
नयाँ नेतृत्व चयनका लागी आयोजित अधिवेशनका लागि संघमा आवद्ध बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाहरुमा रहेका होटल तथा पर्यटन व्यवसायीहरु तथा जिल्ला संघका अध्यक्षहरुको सहभागिता रहेको जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सिन्धुलीका अध्यक्ष सिताराम पहाडीले बताए ।
मंगलबार सम्पन्न अधिबेशनले पुनः दामोदर नेपालको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिती निर्बिरोध चयन गरिएको पहाडिले जनाकारी दिए । नवनिर्वाचित कार्यसमिती सदस्यमा सिन्धुलीबाट मन्जरी होटल एण्ड रिशोर्टका संचालक अमृतबहादुर श्रेष्ठ समेत सर्वसम्मत चयन भएका छन ।
बागमती प्रदेशका १३ वटै जिल्लाका जिल्ला अध्यक्षहरु प्रदेशमा पदेन सदस्य हुने ब्यबस्था भएकोले बागमती प्रदेशमा सिन्धुली जिल्लाबाट दुईजनाको प्रतिनिधित्व रहने जिल्ला अध्यक्ष पहाडीले जानकारी दिए ।









