कलाघरको आयोजनामा ‘राष्ट्रिय कला महोत्सव’ शुरु

सिन्धुली – मौलिक कला तथा संस्कृतिको संरक्षण गर्दै आएको सिन्धुली कलाघरले जिल्लामा पहिलो पटक ‘राष्ट्रिय कला महोत्सव’ शुरु गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका-३ चपौलीमा यही चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म कला महोत्सवको आयोजना गरिएको हो ।

कला घर निर्माणको अभियानलाई विश्वमाझ पुर्‍याउने र हातेमालो गर्ने उद्देश्यले पाँच दिनसम्म महोत्सवको आयोजना गरिएको कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले बताए ।

एक सातासम्म चल्ने महोत्सवको विहिबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका हुन । मुख्यमन्त्री लामाले महोत्सवको उद्घाटन गर्दै कला र संस्कृति संरक्षणमा बागमती प्रदेश सरकारले बजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन । कला महोत्सवले कला र संस्कृतिको उजागर गर्ने विश्वास समेत उहाँले व्यक्त गरे ।

महोत्सवमा विभिन्न १२ जातजातिको कला, संस्कृति, पोषाक, परिकार र झाँकी प्रदर्शन गरिएको छ । नेपाली मौलिक परम्परा झल्कने घरका नमुना, मौलिक परिकारहरू प्रदर्शनीमा राखिएका छन् । 

यस्तै महोत्सवमा विभिन्न मौलिक खेलकुद प्रतियोगिता समेत गरिने आयोजकले जनाएको छ । हस्तकला, चित्रकला, मूर्तिकला लगायतका कलाको प्रदर्शन र व्यापार महोत्सवमा गरिने छ । 

नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔं, नेपाली मौलिक कला संस्कृतिमा रमाऔं भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटनमा नेवार, दनुवार, सुनुवार, तामाङ लगाएत जातजातीको झाँकी, खैजडी भजन, पञ्चेवाजाका प्रस्तुतीहरु राखिएको थियो ।

विभिन्न सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय नृत्य, गायन, चित्रकला लगाएतका प्रतियोगिताहरु महोत्सवको अवधिमा गरिने छ । मार्शल आर्टका विभिन्न खेलहरु हुने छन । स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री वितरण पनि महोत्सवमा गरिने छ ।

कला महोत्सवमा कलादान अभियान सञ्चालन गरिने समेत आयोजकले जनाएको छ । क्षेत्रगत आधारमा सिन्धुली जिल्लामा क्रियाशिल मौलिक झाँकी संस्कृति समूहहरुलाई सम्मान समेत गरिने छ । पुराना मौलिक संस्कृतिको संरक्षण गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गरि महोत्सव गरिने छ ।

महोत्सवमा संविधानसभा सदस्य मोहन प्रसाद बराल, बागमती प्रदेशसभा सदस्यहरु छेत्रबहादुर बम्जन, रामकुमार पहाडी, कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा, जनप्रतिनिधिहरु, जिल्लाका सुरक्षा प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरु, स्थानीय, कलाकारहरु लगाएतको सहभागिता रहेको थियो ।

राष्ट्रिय कलाघर सिन्धुलीले कलाघरलाई मौलिक कलाको संरक्षण गर्दै कला सिर्जनाको आविष्कार केन्द्र तथा सांस्कृतिक विश्वविद्यालयका रूपमा विकास गर्ने उद्देश्य लिएको छ । महोत्सवमा १० हजारभन्दा बढी दर्शकले कला महोत्सवको अवलोकन गर्ने विश्वास गरिएको छ ।  

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार ०४:५९

प्रतिक्रिया दिनुहोस्