सिन्धुली – दुधौली नगरपालिकाको एक होटलमा काम गर्दै आएकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी दर्ता भएको छ ।
मेयर अधिकारी दनुवारले १८ वर्षिय एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा बिहिबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता भएको हो । दुधौली नगरपालिकाकै एक होटलमा काम गर्ने बालिकालाई मेयर अधिकारी दनुवारले जबर्जस्ति करणी गरेको जाहेरीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेका अनुसार बिहिबार जाहेरी दिएकी बालिकाले गत फागुनमा एक शिशुलाई जन्म दिइसकेकी छिन । शिशु जन्मिएपछि मेयरले करणी गरेको घट्ना बाहिरिएको हो ।
बालिकाले जाहेरी दिएलगत्तै प्रहरीले घटनाको गम्भीरता हेरेर तत्काल अनुसन्धान अघि बढाएको बताएको छ । प्रहरी उपरिक्षक काफ्लेका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान थालिएको जनाइएको छ । पीडितको स्वास्थ्य तथा सूरक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ ।
प्रहरी प्रमुखका अनुसार मेडिकल रिपोर्ट, डीएनए परीक्षण लगायतका प्रमाण संकलनको प्रक्रिया अघि बढाइएको छ । मेयरलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गर्ने तयारी भइरहेको प्रहरी स्रोतले बताएको छ । अधिकारी दनुवार २०७९ को स्थानिय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका हुन् ।









