सिन्धुली – नेपाली कांग्रेस दुधौली नगरकार्यसमितीले दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवार बिरुद्ध बालिका उपर जबरजस्ती करणीको आरोपमाथी निष्पक्ष छानबिन गर्न सम्बन्धीत सरोकारवाला निकायसंग माग गरेको छ ।
दुधौली नगरकार्यसमितीका सभापती बलराम कार्कीद्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत पछिल्लो समय सामाजिक संजाल तथा सञ्चार माध्यममा दुधौली नगरपालिकाका मेयर अधिकारी दनुवार लक्षित प्रकाशित समाचारप्रती नेपाली कांग्रेस दुधौली नगरकार्यसमितीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
बिज्ञप्तिमा भनिएको छ, ‘जननिर्वाचित जस्तो उत्तरदायी ब्यक्ती नेपालको प्रचलित कानुन मुलुकी अपराध संहिता २०७४ अन्तरगत जबरजस्ती करणी जस्तो जघन्य कसुरमा जोडिनु आफैमा दु:खद बिषय हो ।’ यस सम्बन्धी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा परेको किटानी जाहेरीको सन्दर्भमा निष्पक्ष, बस्तुनिष्ठ एबम प्रभाबकारी रुपमा अनुसन्धान गरि उचित न्यायिक निरुपणका निमित्त सम्बन्धित सरोकारवाला निकायसंग माग गर्दछौ बिज्ञप्तिमा भनिएको छ ।’
बिज्ञप्ति मार्फत यथोचित समयभित्र न्यायिक निरुपण हुने बिस्वास ब्यक्त गर्दै अहिले नै स्वत निष्कर्षमा नपुग्न र सार्बजनिक रुपमा असहिष्णु तथा असह्य टिकाटिप्पणी नगर्न एबम सचेतनापुर्ण धैर्यता कायम राख्नका लागी समेत आह्वान गरिएको छ ।
दुधौली नगरपालिकाका मेयर अधिकारी दनुवारले १८ वर्षिय एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा गएको बिहिबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता भएको थियो । दुधौली नगरपालिकाकै एक होटलमा काम गर्ने बालिकालाई मेयर अधिकारी दनुवारले जबर्जस्ति करणी गरेको जाहेरीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेका अनुसार बिहिबार जाहेरी दिएकी बालिकाले गत फागुनमा एक शिशुलाई जन्म दिइसकेकी छिन ।
बालिकाले जाहेरी दिएलगत्तै प्रहरीले घटनाको गम्भीरता हेरेर अनुसन्धान गरिरहेको छ । मेयरलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गर्ने तयारी भइरहेको समेत प्रहरी स्रोतले बताएको छ । तर जाहेरी दर्ता भएको करिब एकसाता बितिसक्न लाग्दा समेत प्रहरीले अधिकारी दनुवारलाई पक्राउ गर्न सकेको छैन ।
मेयर अधिकारी दनुवार गत २०७९ को स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका हुन् ।
