सिन्धुली अस्पतालमा पाठेघर, स्तन क्यान्सरको निःशुल्क परीक्षण हुने

१८ बैशाख, सिन्धुली । आउदो बैशाख २० गते (शनिबार) सिन्धुली अस्पतालमा महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ निःशुल्क स्वास्थ्य परीक्षण शिबिर हुने भएको छ ।  सिन्धुली अस्पतालसंगको समन्वय तथा भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा एक दिने शिबिर संचालन हुन लागेको हो ।

रोगको उपचारात्मक सेवामा सुधारसँगै रोग लाग्न नदिन सचेतताका लागि यो शिबिर आवश्यक रहेको सिन्धुली अस्पताल संचालक समितीका अध्यक्ष सतिशचन्द्र ढकालले बताए । उनका अनुसार शनिबार भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा महिलाहरुको लागि नि:शुल्क पाठेघर र स्तन क्यान्सरको परिक्षण (Screening) तथा परामर्श सेवा शिबिर आयोजना गरिनेछ ।

पाठेघरको क्यान्सरका लक्ष्यणहरु जस्तै महिनावारी बाहेक अन्य समयमा रगत जाने समस्या भएका, महिनावारीको समय धेरै रगत जाने वा धेरै दिनसम्म रगत जाने समस्या भएका, तल्लो पेट धेरै दुख्ने, यौन अंगबाट फोहोर पानि जाने समस्या, महिनावारी सुकेपछि पनि रगत बग्ने समस्या तथा यौन सम्पर्कको समयमा धेरै दुख्ने वा रगत बग्ने समस्या भएका महिलाले शिबिरमा निशुल्क परिक्षण एबम परामर्श लिन सक्नेछन ।

त्यस्तै स्तन क्यान्सरका लक्ष्यणहरु जस्तै स्तनमा गाठागुठि आउने, स्तन दुख्ने, स्तन वरिपरीको छालामा परिवर्तन आउने, स्तनको मुन्टोमा घाउ आउने, स्तनको मुन्टोबाट रगत वा पानि बग्ने समस्या, स्तनको आकारमा परिवर्तन आउने तथा स्तन वरीपरि रातो भएमा वा सुन्निने समस्या भएका महिलाले शिबिरमा नि:शुल्क परिक्षण एबम परामर्श लिन सक्ने आयोजकले जनाएको छ । शिबिर बिहान आठबजेदेखी सञ्चालन हुने छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार ०७:५८

प्रतिक्रिया दिनुहोस्