सिन्धुलिमा कोरोना संक्रमितको संख्या १३२ नाघ्यो

सिन्धुली – सिन्धुलीमा कोरोना संक्रमितको संख्या १३२ नाघेको छ । मंगलबार एकै दिन २६ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएपछि जिल्लामा संक्रमितको संख्या १३२ नाघेको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ ।

अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार कन्ट्रयाक ट्रेसिङ र क्वारेन्टिनमा बसेका गरी शनिबार ८१ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षण गर्न धुलिखेल पठाईएको थियो ।

स्वाब पिसिआर परिक्षण गर्न पठाएका मध्ये ५५ जनाको रिपोर्ट निगेटिभ आएको उनले बताए । रिपोर्ट पोजेटिभ आएका २६ जना मध्ये विदेशबाट आई शिबनरस्थित भू–संरक्षण कार्यालयको क्वारेन्टिनमा बसेका फिक्कल गाँउपालिकाका ४ जना, नेपाली सेनाका ६ जना र बाँकी सदरमुकामका विभिन्न गाँउमा बस्दै आएका स्थानीय व्यक्ति रहेको अस्पतालले जनाएको छ ।

संक्रमित सेनाका र क्वारेन्टिनका गरी १० जनालाइ उपचारका लागि एपोलो अस्पताल ल्याउने तयारी भई रहेको उनको भनाई छ । अन्य बाँकी १६ जनाले भने होम आईसोलेसनमा नै बसेर उपचार गर्ने बताइएको छ ।

थपिएका नयाँ संक्रमित व्यक्तिसहित अहिले कोरोना सक्रिय संक्रमित बिरामीको संख्या ४७ पुगेको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका अनुसार हाल १८ जनाको एपोलो अस्पताल, एक जनाको सिन्धुली अस्पताल र दुई जनाको होम आईसोलेसनमा उपचार भई रहेको छ । जिल्लामा अहिलेसम्म उपचारपछि सन्चो भएर ८५ जना संक्रमित व्यक्ति घर गई सकेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार १४:४३

प्रतिक्रिया दिनुहोस्