सिन्धुली – आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकलाका सामग्रीमा विलासिता शुल्क र भ्याट लागू गरेको विरोधमा सिन्धुलीका सुनचाँदी व्यवसायी गएको जेष्ठ २९ गतेदेखी चरणबद्ध रुपमा आन्दोलनमा छन् । उनीहरूले विरोधस्वरूप सोमबार जिल्लाका विभिन्न राजनैतिक दलका कार्यालयहरुमा ज्ञापनपत्र बुझाएका छन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासघं तथा नेपाल हस्ताकला महासघंले संयुक्त रुपमा आन्दोलन गरेका हुन ।
उनीहरूले ज्ञापनपत्रमा सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज हुनुपर्ने, हिरा जवाहरातजडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुनर्विचार गरी खारेज गर्नुपर्ने, सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीति–निर्माण गर्नुपर्ने लगायतका सात बुदे माग राखेका छन् ।
त्यसैगरी, कर संरचना परिवर्तन गर्नुपूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दुरगामी प्रभावको विस्तृत अध्ययन गर्नुपर्ने, छिमेकी भारतसरह नै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गरिनुपर्ने र निर्यातको ढुवानीमा २.५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गर्नुपर्ने माग राखेका छन् ।
संयुक्त आन्दोलन समितीले सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मालाई बिहिबार ज्ञापनपत्र समेत बुझाएको थियो । राजनैतिक दललाई बुझाएको ज्ञापनपत्र बुझ्दै नेपाली काङ्ग्रेस सिन्धुलीका सचिव ईश्वरकुमार बस्नेतले जिल्ला समिती मार्फत उक्त ज्ञापनपत्र केन्द्रिय कार्यालय सानेपासम्म पुर्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।



